माधव नेपाल पुनः एमालेमा फर्कने सम्भावना नरहेको ठहर !

माधव नेपाल पुनः एमालेमा फर्कने सम्भावना नरहेको ठहर !


एमाले स्थायी कमिटी बैठक मङ्गलबार

नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।

पार्टीलाई एकतावद्ध तुल्याउने भन्दै मध्यमार्गी कदम बढाइरहेका नेताहरु पनि मंगलबारको बैठकमा उपस्थित हुने जनाइएको छ ।

विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओलीनिवास बालकोटमा भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।

एमाले नेताहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । अध्यक्ष केपी ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएपछि मध्यमार्गी धार लिएका नेताहरु एमालेमै रहने भएका स्रोत बताउँछ ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओली १४ जना सांसदलाई गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्, तर माधव नेपाल पुनः एमालेमा फर्कने सम्भावना भने शुन्य रहेको दाबी उनले गरे ।