एमालेको दशौँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म हुने

एमालेको दशौँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म हुने



नेकपा (एमाले)को दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने भएको छ । मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको सो पार्टीकाो स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको हो ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने बताइएको छ । उता अर्को पार्टी बनाउने तयारीमा रहेका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ ।

यसैगरी १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको एमालेले जनाएको छ ।