एमाले अब महाधिवेशनमा केन्द्रित हुने अध्यक्ष ओलीको उद्घोष

एमाले अब महाधिवेशनमा केन्द्रित हुने अध्यक्ष ओलीको उद्घोष



प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाएका छन् ।

मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताएका हुन् ।

एमालेबाट अलग भएका माधवकुमार नेपालसहितका नेताहरु नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखतमा जुटिरहेका बेला अध्यक्ष ओलीद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एकताका लागि स्थायी कमिटीको बैठकबाट पारित प्रस्ताव प्रस्तुत गरिएको थियो ।

उनले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएको तथा एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिँदै उनले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकताबद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाइने बता्ए ।

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “एकताको पक्षमा दृढतापूर्वक उभिनुभएको छ । उहाँहरुको यस निर्णयलाई हार्दिक स्वागत गर्दै दशबुँदेमा समेत एकताको पक्षमा उभिनुभएका नेताहरुलाई म स्वागत गर्दछु । बलियो, एकताबद्ध तथा सुदृढ एमाले पार्टी पङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आम जनताको समेत चाहना हो । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका पार्टीहरु विभाजित हुँदा कसरी यसको मूल्य सिङ्गो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्छ भन्ने निकट अतीतका अनुभवहरु हामी सबैका स्मरणमा ताजै छन् ।”

उनले आजको एमाले नेकपाकै निरन्तरताका रुपमा रहेको, यसले नेकपाको विरासत आत्मसात् गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात् गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले यसलाई विभाजन गरेर बृहत् कम्युनिष्ट एकता गर्ने कुरा गरिनु सुहाउँदो नहुने टिप्पणी अध्यक्ष ओलीको थियो ।

एमालेबाट अलग्गिएर छुट्टै दल दर्ताको प्रक्रियामा रहेका नेता/कार्यकर्तालाई असफलता अवश्यम्भावी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीमा फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह नराखिने या कुनै विभेद या कारबाही नहुने दोहोऱ्याए ।

संसद्को अधिवेशन चलिरहेको र सभामुखले आगामी बैठकका कार्यभारबारे सदनलाई जानकारी गराइसकेको पृष्ठभूमिमा अकस्मात अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश जारी भएकोभन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।

एक फरक प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफूले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिए ।

सो पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिमै कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेकाले पार्टीलाई विभाजन गर्नुपर्ने कुनै आवश्यकता नभएको अभिव्यक्ति दिए ।

pict:rss