एमालेको गाईजात्रा र देशको दुर्दशा !

एमालेको गाईजात्रा र देशको दुर्दशा !


राजनीतिलाई निजी लाभ-हानीको विषय बनाएपछि, व्यक्तिगत इबी साध्ने साधन ठानेपछि, पदीय लालसाको प्रभुत्वमा परेपछि, स्वविवेक गुमाएर धुर्तहरूको इशारामा नाच्न थालेपछि ठुलै ठानिएका राजनीतिकर्मी पनि कति दूराग्रही, कति कुण्ठित र कति बिघ्न कठोर देखिँदोरहेछ- जगका सामु ज्वलन्त उदाहरण उदाङ्गिएको छ ।

परम्परागत रूपमा मनाइँदै आएको गाईजात्रा पर्वको परिवेशका बाबजुद यो वर्ष गाईजात्राको रौनक फिक्का रह्यो । ब्यङ्ग्यात्मक प्रहसन तथा विभिन्न विधामार्फत् गाइजात्रे प्रस्तुति दिएर मनोरञ्जन प्रदान गर्ने कलाकार/सर्जकहरू पनि यस वर्ष उत्साहित देखिएनन् । कोरोना महामारीलाई कारण ठान्न सकिएला, तर मूल कारण कोरोना होइन । राजनीतिक दल तथा दलका नेतृत्वकर्ताहरूले देखाएको अशोभनीय तमासा नै यस्तो गाइजात्रे प्रतीत हुन पुग्यो, जसले होनहार कलाकर्मीहरूलाई समेत गाइजात्रे प्रस्तुति दिन निरुत्साहित तुल्यायो । आफूले ब्यङ्ग्योक्तिका साथ प्रस्तुत गर्ने विषयबस्तुलाई राजनीतिजीवीहरूले यथार्थमै मञ्चन गर्न थालेपछि कलाकर्मीको के दरकार !?

यसरी गाईजात्रा पर्वकै फजिती हुने गरी राजनीतिको फोहोरी खेल मौलाउनुको कारक वा केन्द्रीय पात्रका रूपमा यतिबेला चर्चाको चुलीमा छन् एमालेका पूर्वनेता माधवकुमार नेपाल । एमाले जन्माउन र हुर्काउन आफूले निकै पसिना बगाएको दाबी गर्दै आएका नेपाल आखिर कुन रसायनको शिकार बने जसले एमालेप्रति उनमा घृणाकै तहमा वितृष्णा जागृत गरायो ? एमाले नामक पार्टीले उनको के बिगारिदियो जसको यतिबेला उनी नामसम्म उच्चारण गर्न झर्को मानिरहेका छन् ? यस्ता सवालले यतिबेला स्वयम् माधव नेपालका सहकर्मी/सहयात्री वा शुभेच्छुकहरूकै दिमाग रन्थन्याइदिएको छ ।

अभिभावक ठानिएको व्यक्तिले नै बाटो बिराएपछि उनको भर-भरोसामा सहयात्रा गर्नेहरू कस्तो मनोदशाबाट गुज्रनुपर्दोरहेछ, कति संशयमा पर्नुपर्नेरहेछ र मानसिक यातनाको कुन उत्कर्ष तिनले झेल्नुपर्दोरहेछ- यतिबेला आमतहले अनुभूत गरिरहेको छ । राजनीतिलाई निजी लाभ-हानीको विषय बनाएपछि, व्यक्तिगत इबी साध्ने साधन ठानेपछि, पदीय लालसाको प्रभुत्वमा परेपछि, स्वविवेक गुमाएर धुर्तहरूको इशारामा नाच्न थालेपछि ठुलै ठानिएका राजनीतिकर्मी पनि कति दूराग्रही, कति कुण्ठित र कति बिघ्न कठोर देखिँदोरहेछ- जगका सामु ज्वलन्त उदाहरण उदाङ्गिएको छ ।

काङ्ग्रेसको विकल्पको रूपमा लगभग उभिइसकेको एमालेको तीव्रतर गतिमा भएको क्षयीकरणले सम्बन्धित दल वा त्यससम्बन्धित नेता-कार्यकर्तालाई मात्र हानी पुऱ्याउँछ भन्ने ठान्नु विवेकसम्मत सोच हुन सक्दैन ।

आफ्नै दलभित्रका ‘विपक्षी’हरूद्वारा हठी, दम्भी, अहङ्कारी, मनमौजी, असहिष्णु आदि विशेषण दिइएका एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत अडान छोडेर व्यक्तिगत स्वभावविपरीत ‘लचकदार’ बन्न विवश देखिए । आफूसँग सहमति जनाउनेदेखि विमति राख्नेसम्मका पार्टी-सहकर्मीहरूको एकोहोरो आग्रह हठवादीको रूपमा चित्रित गरिएका ओलीले समेत टार्न सकेनन् । फलतः नेपालपक्षबाट तेर्स्याइएका शर्तहरूमा अन्ततः उनले सहमति जनाए । यति मात्र लचकता अपनाउनु पनि केपी ओलीका लागि सम्भवतः कालकुट विष पिएसरह भएको हुँदो हो ! तर उनको यो दशाप्रति रत्तिभर दयाभाव जागेन माधव नेपालको हृदयमा ! एमाले नामको दल र उक्त दलप्रति अगाध आस्था एवम् स्नेह राख्ने तमाम एमालेजनप्रति कथित अग्रगमनका ‘मसिहा’ पटक्कै दयालु बन्न सकेनन् !


एमाले नामक दलमा पैदा भएको टुटफुटको यो दुर्दशाप्रति यसरी चिन्ता किन गर्नुपऱ्यो भन्ने प्रश्न उब्जिन सक्छ । हुन पनि हो, ‘एमाले नामको दल वा यस दलका नेतृत्वकर्ताहरूले यो देशलाई के गुन लगाएको छ र ? मुलुकको मान-सम्मान, स्वाभिमान र समृद्धि उकास्न आजसम्म कति नै योगदान पुऱ्याएको छ र ? बरु नेपाल-बिसर्जनकै बाटोमा हिँड्नेहरूको मतियार बन्न खोज्दैछ’ भन्ने आरोप जनस्तरबाट नै नलागेको होइन । दलीय गाइजात्रा हेर्दा-हेर्दा वाक्क बनेका सर्वसाधारण नेपालीले ‘चित्र-चरित्र स्पष्ट नभएको दल चोइटिएर कमजोर बने पनि के फरक पर्ला र ?’ भन्नेसम्मको सोच बनाए भने अन्यथा ठान्नु पर्दैन । तर, यसो भन्दैमा एमाले पार्टी चिरा परेको सन्दर्भलाई नजरअन्दाज गर्न मिल्दैन ।


संसदीय परिपाटीमा एकछत्र हैकम जमाएको नेपाली काङ्ग्रेसजस्तो पुरानो दलकै विकल्पको रूपमा लगभग उभिइसकेको राजनीतिक दल एमालेको तीव्रतर गतिमा भएको क्षयीकरणले सम्बन्धित दल वा त्यससम्बन्धित नेता-कार्यकर्तालाई मात्र हानी पुऱ्याउँछ भन्ने ठान्नु विवेकसम्मत सोच हुन सक्दैन । एमाले-हैसियतको दल तहसनहस हुँदा उत्पन्न हुने तरङ्गले सिङ्गो मुलुकलाई खल्बल्याउन सक्छ भन्ने हेक्का सबैले राख्नैपर्छ । यतिबेला अझ बढी संवेदनशीलताका साथ विवेकपूर्ण व्यवहार अवलम्बन गर्नुपर्ने चाहिँ एमालेका नेताहरूले नै हो । तर विडम्बना ! अक्कर र भीर सन्निकट देख्दादेख्दै पनि आफूलाई एमाले भन्दै आएका र भन्न रुचाउनेहरू आँखा चिम्लिएर अन्त्यष्टिको मार्गमा हुत्तिन पुगेका छन् । लोकको भाषामा भन्नुपर्दा ‘बाक्लो दाल खान हतारिएकाहरू’लाई काँधमा बोक्नेहरू त मनमनै मख्ख हुँदाहुन्, तर आफैभित्र पैदा भएको ‘विभीषण’का कारण प्रकट हुँदै गरेको विपत्तिबाट विचलित तमाम एमालेजनको आर्तनाद यतिबेला सुनिदिने कसले ?!