प्रदेश नं. १ का मुख्यमन्त्री राईको राजीनामा लगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त

प्रदेश नं. १ का मुख्यमन्त्री राईको राजीनामा लगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त



प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमाले नेता तथा सांसद भीम आचार्य नियुक्त भएका छन् । आज (बिहीबार) मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य संसदीय दलको नेतामा सर्वसम्मतबाट चयन भएका थिए । मुख्यमन्त्री राईको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले तत्कालै स्वीकृत गरेका थिए । त्यसपछि आचार्यलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीको शपथ दिलाइएको हो ।

भर्खरै पार्टी फुटाएका माधव नेपालको नेकपा (एकीकृत समाजवादी)ले औपचारिकता पाउनुपूर्व आचार्यले क्याम्प परिवर्तन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन दिएका थिए । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा एमाले सचिव समेत रहेका आचार्यलाई बिहीबार संसदीय दलको नेता चयन गरिएको थियो ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका बताइएको छ ।

ज्ञातव्य छ, २०७४ सालमा शेरधन राईसँगै मुख्यमन्त्रीका लागि स्पर्धा गरेका आचार्य २ मतले पराजित भएका थिए । ०७४ माघ २६ गते शेरधन राई २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भई प्रदेशकै पहिलो मुख्यमन्त्री बनेका थिए भने त्यसबेला एमालेका ५१ सांसदमध्ये २४ जनाको मत आचार्यको पक्षमा परेको थियो ।