लोसपा गठनपछिको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

लोसपा गठनपछिको पहिलो कार्यकारिणी समिति बैठक बस्दै



निर्वाचन आयोगबाट बुधबार दल दर्ताको प्रमाणपत्र हासिल गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न बस्ने बैठकले आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ ।

मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् । उनका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, आफूले उठाउँदै आएका माग तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ ।

जसपाबाट फुटेर नयाँ गठन भएको सो पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ, तर यस विषयमा औपचारिक धारणा भने आइसकेको छैन ।

महन्थ ठाकुरका अध्यक्षतामा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीका वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहेका छन् ।

जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने बताइएको छ ।