‘जनवादी गायक’ टुहुरेको निधन

‘जनवादी गायक’ टुहुरेको निधन


नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ ।

खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिनपहिले आफ्नै घरमा लड्नपुगेका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार उपचारमा संलग्न चिकित्सकले टुहुरेलाई स्ट्रोक भएको बताएका थिए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो ।

विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँडे । उनी त्यतिबेला कोशी प्रान्तीय परिषदमा सङ्गठित थिए ।

सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा (माओवादी केन्द्र)ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उनले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्दथे ।

झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मिएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए ।

दिवंगत टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।