नेता सिंहको आक्रोश : ‘सभापति देउवा तानाशाह बने’

नेता सिंहको आक्रोश : ‘सभापति देउवा तानाशाह बने’


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्टि र आक्रोश प्रकट गरेका छन् । पार्टी क्रियाशील सदस्यतासम्बन्धी मामलामा चरम अनियमितता गरेको भन्दै नेता सिंहले देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।

नेपाल महिला संघ काठमाडौंद्वारा मंगलादेवी सिंहको २५औँ स्मृति दिवसको उपलक्ष्यमा बिहीबार शोभाभगवती विजेश्वरीमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता छानबिनमा व्यापक धाँधली भएको र सभापतिकै ‘इसारा’मा मनलाग्दी गरिएकोले यसरी तानाशाह बन्न खोज्नेहरूलाई अब सम्मानको व्यवहार गर्नुको अर्थ नरहेको धारणा राखे ।

सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिच्दै लम्ब्याएको नेता सिंहको आरोप छ । देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने अनि अरुलाई मात्रै नीति-नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने भन्दै अब यस्तो व्यवहार सह्य नहुने जिकिर उनले गरे ।

नेता सिंहले भने, ‘नेपाली कांग्रेसको अहिले १४ औँ महाधिवेशनको पाँचौँ पटक कार्यतालिका संशोधन गरेर फ्ल्यास भएको छ, क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, विधि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, कसैको विशेष इन्ट्रेसमा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँधली गर्न पाइन्न र यो सहिँदैन ।’