ठूलो परिमाणमा चरेशसहित भारतीय नागरिक पक्राउ

ठूलो परिमाणमा चरेशसहित भारतीय नागरिक पक्राउ


  • आरपी उपाध्या, नवलपरासी

नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत बर्दघाट सडक खण्डमा प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारी र पचफेडा प्रहरी चौकीको संयुक्त टोलीले प्रतापपुर गाउँपालिका ४ बर्दघाट पुलनजिक नियमित चेकजाँचको क्रममा चरेससहित भारत महाराजगन्ज भगतपुरवा निवासी २७ वर्षीय राजेस यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी राजु लामाका अनुसार कालो झोलामा चरेसलाई कागजले बेरेर इट्टा जस्तो बनाइ २६ वटा प्याकेटमा १० किलो चरेस लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । चरेस तस्कर यादवलाई लागू औषध एेनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

ठूलो परिमाणमा हुँदै आएको चरेस तस्करीकोपछाडि मुल नाइके भने अदृश्य रहेका छन् भने झोलामा चरेस बोकेर हिँड्ने व्यक्ति भरिया मात्र रहेको प्रहरीको अनुमान छ । बरामद गरिएको चरेस प्रतापपुरको सेमरीबाट ल्याएको र गोरखपुरसम्म पुऱ्याउने शर्त रहेको पक्राउ परेका भारतीय नागरिकबाट खुल्न आएको छ।