कुश्माकी महिलाको कुवेतमा मृत्यु

कुश्माकी महिलाको कुवेतमा मृत्यु


रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका-११, गैरीटोल घर भइ केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको सिलवाललाई उद्धृत गर्दै राससले जनाएको छ । ४२ वर्षीया पुतली अहिले अवैधानिक रूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।

दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने नआइसकेको र पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको जनाइएको छ ।

symbolic image