विमलेन्द्र निधिले चुनावपछि कांग्रेसलाई ‘एक नम्बर पार्टी’ बनाउने !

विमलेन्द्र निधिले चुनावपछि कांग्रेसलाई ‘एक नम्बर पार्टी’ बनाउने !


महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न असन्तुष्ट पक्षको पहल


कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको आग्रह लत्याउँदै यावत कोशिसका बाबजुद उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो उम्मेदवारीको अपरिहार्यता दाबी गर्दै निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने निचोडमा पुगेको उनको भनाइ छ ।

शुक्रबार काठमाडौंको बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधिले आफू सभापति बनेर आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउने जिकिर गरे ।

सभापति देउवातर्फ संकेत गर्दै उनले आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार बन्न लागेको होइन भन्ने अभिव्यक्ति दिए । उनले भने, ‘नेपाली कांग्रेसलाई आगामी आमचुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ भन्ने मलाई पूरा विश्वास छ ।’ कांग्रेसतर्फ आम मतदाताको ध्यान कसरी खिचिन्छ भन्ने ठोस योजना भने उनले खुलाएनन् ।

आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए । युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने निधिको भनाइ थियो ।

यता नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बिहान बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा. मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग छलफल गर्ने बताए ।

सो बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा रिजाललगायत उपस्थित रहेका थिए ।