सरकारले प्रस्ताव गरे लोसपाले ‘सत्ता’सँग सहकार्य गर्ने

सरकारले प्रस्ताव गरे लोसपाले ‘सत्ता’सँग सहकार्य गर्ने



लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको खुलासा गरे ।

पार्टी दर्ता नै भर्खर भएकाले सरकारमा सहभागिताका विषयमा छलफलपछि निर्णय गरिने प्रष्ट पार्दै अध्यक्ष ठाकुरले भने, ‘पार्टी भर्खर दर्ता भएको छ । सरकारले बोलाएर सोध्छ, अनि कुरा राख्छौँ, त्यसपछि सरकारमा जाने या नजाने कुरा आउछ ।’ चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले आफूहरु सत्तारुढ गठबन्धनमा नभएकाले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरिने धारणा राखे ।

सो अवसरमा लोसपाका कार्यकारिणी सदस्य केशव झाले पार्टीको माग सम्बोधन हुने अवस्था भए र प्रधानमन्त्री देउवाले सरकारमा सहभागिताका लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर निर्णय गरिने जानकारी दिए ।

निर्वाचन आयोगबाट यही बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीले औपचारिक रुपमा बबरमहलमा कार्यालय शुरु गरेको हो ।

पार्टी कार्यालय उद्घाटन तथा झण्डोत्तोलनमा लोसपाका अध्यक्षसहित वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।

यसैक्रममा बदलिँदो परिस्थितिमा समसामयिक विषयमा पार्टीको धारणा बनाउन लोेसपाको कार्यकारिणी समितिको बैठक शनिबार बस्ने जनाइएको छ ।