पराजय स्वीकार्न नसक्नेप्रति पन्तले यसरी गरे प्रहार !

पराजय स्वीकार्न नसक्नेप्रति पन्तले यसरी गरे प्रहार !



हालै सम्पन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम नआएपछि सङ्कुचित मानसिकता भएका केही व्यक्तिले आफू र संस्थाप्रति नै अस्वस्थ टीका–टिप्पणी गर्दै भ्रम छर्ने प्रयास गरेको भन्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (जर्मनी)का अध्यक्ष मिलनराज पन्तले असन्तुष्टि प्रकट गरेका छन् । आइसीसीको परिपत्र र मापदण्डको पूर्ण पालना गरेर सम्पन्न गरिएको निर्वाचन प्रक्रियाप्रति आफू पराजित भएपछि अलोकतान्त्रिक ढङ्गले दुष्प्रचार गर्नु खेदजनक रहेको भन्दै पन्तले पद्धति र प्रकृयालाई आत्मसात गरेपछि नतिजालाई पनि सहज रूपमा स्वीकार्ने क्षमता भए मात्र इमान्दारिता झल्किने धारणा राखेका छन् ।

नयाँ नेतृत्वप्रति भ्रामक हल्ला चलाइएको प्रति स्पष्ट पार्न जर्मनीवासी एनआरनहरूलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले एक विज्ञप्ति नै जारी गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्– ‘यो तीन हप्ताको अवधिमा एनआरएनए जर्मनीका बारेमा भएका विभिन्न टीकाटिप्पणी र चर्चा चलेको बारेमा संस्थाको ध्यानाकर्षण भएको छ । एनआरएनका बारेमा यसरी टीकाटिप्पणी गर्नेहरूलाई अवश्य थाहा छ, निर्वाचनमा गएपछि विजेता या उप–विजेतामध्ये एउटा नतिजा आउँछ । तर त्यो नतिजा त एक गणितीय प्राविधिक विषय मात्र न हो । यो अभियानमा कसैको हार र जित भन्ने हुँदैन । यद्यपि गणितीय हिसाबले पदको जिम्मा मेरो भागमा परेपछि संस्थाको नेतृत्वमार्फत प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्नेछु भने उपविजेता मित्रले पनि मतदाताको भावनाको कदर गर्नुहुँदै अभियानको पक्षमा लागिरहनुहुनेछ भन्ने आशा राखेको छु ।’

पन्तको अपिल जस्ताको तस्तै–

आदरणीय जर्मनीवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू हार्दिक नमस्कार !
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको निर्वाचित नयाँ नेतृत्व आएको करिव तीन हप्ता भएको छ । आइतबार बसेको कार्यसमितिको पहिलो प्रत्यक्ष बैठकमा निर्वतमान कार्यसमितिबाट कार्यभार हस्तान्तरण र वर्तमान समितिले ग्रहण गर्ने काम पनि सम्पन्न भएको छ ।

प्रवासी नेपालीहरूलाई एकै छातामुनि राख्ने आशा र विश्वासको प्रतिनिधिमूलक संस्थाको नेतृत्वमा विजयी गराउन अमुल्य मतदान गर्नुहुने यहाँहरू सबैमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दछु । साथै टिममा विजयी भएर आउनुभएका सहयात्री साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु । विधिसम्मत, निष्पक्ष र स्वतन्त्रतापूर्वक निर्वाचन सम्पन्न गराउन सफल निर्वाचन आयोगप्रति कृतज्ञ छु । यसैगरी ग्लोबल अधिवेशनको लागि आइसीसीको मापदण्डअनुसार मनोनित र निर्वाचित हुनुभएका सबै प्रतिनिधिहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछु ।

आइसीसीको परिपत्र र मापदण्डको पूर्ण पालना गरेर हामीले ६५ र १० प्रतिशत गरी ७५ प्रतिशत प्रतिनिधि छनोट गरेको र २५ प्रतिशतको हकमा तोकिएको संख्याभन्दा बढी आवेदन आएमा चुनावमा जानु भन्ने आइसीसीको निर्देशनको पालना गरेका हौँ । यसरी हामीले तोकिएको समयसीमाभित्र प्रतिनिधिहरूको नाम आइसीसीलाई बुझाउन सफल भएका छौँ ।

यो तीन हप्ताको अवधिमा एनआरएनए जर्मनीका बारेमा भएका विभिन्न टीकाटिप्पणी र चर्चा चलेको बारेमा संस्थाको ध्यानाकर्षण भएको छ । एनआरएनका बारेमा यसरी टीकाटिप्पणी गर्नेहरूलाई अवश्य थाहा छ, निर्वाचनमा गएपछि विजेता या उप-विजेतामध्ये एउटा नतिजा आउँछ । तर त्यो नतिजा त एक गणितीय प्राविधिक विषय मात्र न हो । यो अभियानमा कसैको हार र जित भन्ने हुँदैन । यद्यपि गणितीय हिसाबले पदको जिम्मा मेरो भागमा परेपछि संस्थाको नेतृत्वमार्फत प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्नेछु भने उपविजेता मित्रले पनि मतदाताको भावनाको कदर गर्नुहुँदै अभियानको पक्षमा लागिरहनुहुनेछ भन्ने आशा राखेको छु ।

यो पद्धति र प्रकृयालाई आत्मसात गरेपछि नतिजालाई पनि सहज रूपमा स्वीकार्ने क्षमता भएमा मात्र इमान्दारिता झल्किन्छ । हामी सबै एनआरएनएको छातामुनि छौँ, अबको उद्देश्य भनेकै अभियानलाई अझ सशक्त र प्रभावकारी कसरी बनाउने भन्ने नै हो । अभियान भनेको झन् परिस्कृत हुँदै जाने भएकाले सबैसँग सहकार्य, हातेमालो गरी अघि बढ्नेछु र त्यसका लागि पुनः पनि यसै विज्ञप्तिमार्फत अपिल गर्दछु । तपाईंहरूको समेत भावना समेटेर नयाँ कार्ययोजनाहरू अघि बढाउँदै चुनावी प्रतिवद्धता पूरा गर्नेमा अब मेरो ध्यान केन्द्रित हुनेछ । यो हाम्रो साझा संस्था भएकाले यहाँ सबै प्रकारका विचारहरूको सम्मान हुन्छ । कार्यसमितिमा आउनुभएका सबै साथीहरूको विचारलाई सम्मान गर्दै अभियान अघि बढ्नेमा ढुक्क हुन आग्रह गर्दछु ।

यो चुनावी परिणामले एनआरएनए जर्मनी कुनै पनि राजनीतिक, जातिय, धार्मिक, लैंगिक विचारबाट प्रभावितहरूको अखडा नभएर साझा संस्था भएको मात्र प्रमाणित गरेन कि मतदाता सचेत छन् भन्ने सन्देश पनि दिएर गएको छ । प्रकृयामा सामेल हुने तर सोचेजस्तो परिणाम आएन भन्दै धाँधली र फर्जी मतदानको संज्ञा दिएर औंलामा गन्न सकिने राजनीतिक खोल ओढेका सीमित व्यक्तिहरूको रोइलोले अभियानप्रति सकारात्मक सन्देश भने अवश्य दिएको छैन ।

नेपालदेखि प्रवाससम्म लाखौँ नेपालीको भावना, आस्था, सोच र विचार बोकेका ती गरिमामय राजनैतिक, सामाजिक संस्थाहरूको नाममा केही कुण्ठा पालेका व्यक्तिले विज्ञप्ति जारी गर्नु भनेको ती संगठनप्रति आस्था राख्दै एनआरएन अभियानमा सामेल भएकाहरूको समेत घोर अपमान र संगठनको नामको दुरुपयोग भएको हाम्रो ठहर छ । ती अफवाहहरू ती संगठनको आधिकारिक भावना होइन भनेर बुझेका छौँ । गौरवशाली इतिहास बोकेका ती राजनीतिक दलका प्रवासी संगठनहरूको नाममा विज्ञप्ति जारी गर्नेहरूको लोकतान्त्रिक संस्कार यतिबिघ्न संकुचित होला भन्ने परिकल्पना समेत गरेका थिएनौँ । राजनैतिक वैचारिक संगठनहरूलाई सम्मान गर्दै, असल र लोकतान्त्रिक मुल्यमान्यताका पक्षपातिहरूसँग भने हातेमाले गर्न सदैव तयार छौँ । तर समग्र संगठनको नै प्रतिनिधि आवाज जस्तो गरी इमान र लाजको समेत ख्यालै नगरी नेतृत्वको स्वार्थ लाद्न अनेकथरी मिडियाबाजी गर्दै गैरजिम्मेवार काममा उत्रनेहरूप्रति घोर भत्सर्नासहित खेद जनाउँदछौँ । कोही कसैले कञ्चन एनआरएनए अभियानलाई धुमिल्याउने दुष्प्रयास गरे पनि हामीले त्यसलाई पूरा हुन दिने छैनौ । हामी विधि र पद्धतिको पक्षधर भएकाले न त गलत गर्छौं न त गलत हुन नै दिन्छौँ । लोकतन्त्र, प्रजातन्त्र र कानूनी राजमा विश्वास गर्ने एनआरएनए जर्मनीमाथि बारम्बार गलत नियत र भ्रम पैदा गर्ने अभिप्रायले प्रहार भैरहँदा चुप बस्न भने अवश्य सक्दैनौँ । अब नयाँ किसिमले सोच्नुपर्ने परिस्थिति देखापरेको छ । स्मरण रहोस्, यति धेरै नेपालीहरूको, आस्था, विश्वास र भरोसा बोकेको साझा संस्थाको रूपमा रहेको र कानुन अनुसार दर्ता भएको एनआरएनए जर्मनीले राम्रोसँग आफ्नो कर्तव्य र अधिकार बुझेको छ ।

आफूलाई लोकतान्त्रिक मुल्य-मान्यताका पक्षपाती पनि भन्ने अनि सत्य स्वीकार गर्न नसकेर अफवाह फैलाउने यस्ता मुठ्ठीभरका व्यक्तिहरूलाई हेक्का हुनुपर्ने हो, एनआरएन जर्मनी कुनै पनि स्वार्थ समुहको भक्तिगान गाएर र उनिहरूको स्वार्थ पूरा हुने खालका कुनै निर्देशनबाट चल्ने छैन । कोही कसैको व्यक्तिगत स्वार्थमा अल्झेर बस्ने नभई समान उद्देश्यका संस्थाहरूसँग समन्वयका लागि हात फैलाएर अघि बढ्नेछ । गुट-उपगुट बनाएर हैन सबैको साझा संस्थाको रूपमा अगाडि बढाएर लैजानेतर्फ यो नेतृत्वले पहलकदमी गर्नेछ । संस्थामा परिवर्तन आउनुपर्छ र संस्थालाई समयसापेक्षित गर्दै लैजानु पर्दछ भन्ने सोच यो निर्वाचनबाट पारित भएको छ । अब यो नेतृत्व कतै नअल्झिई पाएको जिम्मेवारीमा केन्द्रित भएर लाग्नेछ भन्ने विश्वास दिलाउँदछु ।

मिलनराज पन्त (अध्यक्ष)
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् जर्मनी