एनआरएनए यूरोप उप-संयोजकमा अष्ट्रियानिवासी सागर सुवेदीको उम्मेदवारी

एनआरएनए यूरोप उप-संयोजकमा अष्ट्रियानिवासी सागर सुवेदीको उम्मेदवारी



‘संघलाई संघको रूपमा काम गर्न दिने परिपाटी निर्माण गरिए मात्र संघको अस्तित्व रहने’

  • राजन घिमिरे

प्रवासी जीवन साचेझैँ सहज र सरल छैन । एकातिर कामको चटारो अनि सामाजिक क्षेत्रको सक्रियता र अर्कोतिर पत्रकारिताको हुटहुटी ! यी तीनै कर्म-विधालाई एकसाथ अगाडि बढाउन सजिलो छैन । तथापि, मन र आत्मिक उद्देश्यमा केही गरौँ भन्ने दृढ अठोट छ भने असम्भव भन्ने कुराचाहिँ केही नहुँदो रहेछ । यसको उदाहरण हुन् अष्ट्रियालाई कर्मथलो बनाउँदै आएका युवा सागर सुवेदी ।

पर्वतको कुश्मा नगरपालिका–११ घर भएका सुवेदीको प्रवासी जीवनको भोगाइ २० वर्षभन्दा बढी भैसकेको छ । यसबीचमा यूरोपको मध्यभागमा अवस्थित मुलुक अष्ट्रियामा रहेर उनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान, सक्रिय दैनिकी र प्रवासबाटै पत्रकारितामा जनाएको सशक्त उपस्थिति साँच्चै स्वागतयोग्य रहेको छ । उनको यो सक्रियताकै कारण हुन सक्छ सागरलाई यूरोपमा रहनुहुने अधिक नेपालीजनको साथ मिलेको छ र, त्यही साथ एवम् हौसलाका कारण सुवेदीले गैरआवासीय नेपाली संघको २०२१-२०२३ को लागि यूरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिएका छन् ।

अष्ट्रियामा रहेर गैह्रआवासीय नेपाली संघमार्फत सागरले आफूलाई सामाजिक कार्यमा धेरै अघिदेखि प्रस्तुत गर्दै आइरहेका छन् । गैह्रआवासीय नेपाली संघ अष्ट्रियाको दुई कार्यकाल सचिव भएर उनले जून भूमिका निभाए त्यसको आज पनि तारिफ हुने गरेको छ । आफू पदमा रहँदा होस् या नरहँदा, डायस्पोरामा बसिरहेका नेपालीका सुख-दुःखमा सधैं साथ रहनेमा पर्दछन् सुवेदी ।

नेपाल रहँदा पनि राजनीतिक र सामाजिक कार्यमा लागिपर्दै आएका थिए उनी । १४ वर्षको उमेरमा नै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको माध्यामिक विद्यालयको संस्थापक सभापति भएर एक कार्यकाल काम गरेका सुवेदी विगत १० वर्षदेखि अष्ट्रियाबाटै पत्रकारिता गर्दै आइरहेका छन् । विशेष गरेर राष्ट्रिय राजनीतिमा राष्ट्रियताका पक्षमा सशक्त कलम चलाएका सागर पछिल्लो कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा सूचना पुर्‍याउने उद्देश्यले स्वास्थ्यसँग सम्बन्धित ‘लाइभ टक’ साथै लेख-रचनामार्फत जनचेतना जगाउने तथा समाजलाई सुसूचित गर्ने काम गर्दै आएका छन् ।

गैह्रआवासीय नेपाली संघको केन्द्रीय स्वास्थ्य समितिका सदस्यसमेत रहेका सागर संघको यूरोपियन स्वास्थ्य समितिका सदस्य पनि हुन् । यसैगरी गैह्रआवासीय नेपाली संघको महिला तथा बालबालिका टाक्सफोर्सका सदस्य पनि हुन् उनी, तर सागरको गुनासो छ कि यो टाक्स फोर्समा रहेर केही गर्ने इच्छा र खुबी हुँदाहुँदै पनि कारणवश केही गर्न सकिएन । पदसँगै आफूलाई सुम्पिएको जिम्मेवारीलाई सफलताका साथ निर्वाह गर्दै अगाडि बढेका सुवेदी गैह्रआवासीय नेपाली संघलाई संघको रूपमा काम गर्न नदिइएकोमा चित्त दुखाउँछन् । भन्छन्, ‘संघमा राजनैतिक, जातिय र क्षेत्रीय शक्तिहरू हाबी हुँदा संघ कतै आफ्नो उद्देश्यमा चुकेको त छैन भन्ने लाग्न थालेको छ । हामीले यसतर्फ गम्भीर भएर सोच्नुपर्ने भएको छ ।’

प्रजातान्त्रिक पघतिलाई मानेर निर्वाचनमा प्रतिस्पर्धा गरेपछि जो जितेर आउँछ जित्नेलाई सबैले सहयोग गर्नुपर्छ र, जितेकाले पनि सबैलाई समेट्नुपर्छ भन्ने मान्यता बोकेका छन् सुवेदीले । त्यसैले त उनी भन्छन्- ‘संघलाई ब्यावसायिक पृष्ठभूमि बोकेकाहरूले मात्र नेतृत्व नगरेर यसमा ऐकेडेमिक युवा व्यक्तित्वहरू जोडिँदा संघले आफ्नो उचाइ प्राप्त गर्न सक्छ । संघ सबैको हो, यसलाई डोर्‍याउने क्षमता राख्ने जो-कोही संघमा जोडिन पाउने पद्दति निर्माण हुनुपर्नेमा आगामी दिनमा जोड दिनुपर्छ ।’

बिगत ७ वर्षदेखि नर्सिङ पेशामा आवद्ध रहेर कोरोना महामारीको चपेटामा परेकाहरूको सेवामा जुटेका सुवेदीले मानवीय मूल्यको विविधतालाई राम्रोसँग बुझेका छन् । संघलाई संघको रूपमा काम गर्नुपर्छ भन्ने उनको अडान भोलिका दिनमा साकार हुने उनको प्रस्तुत हुने शैली र भद्रताले पनि सङ्केत गरेको छ । मानवीय मूल्यको महत्वलाई बुझेकै कारण सागर यसै वर्षको फेब्रुअरीदेखि ग्राज विश्वविद्यालयमातहत रहेर इन्टेन्सिभ मेडिकल नर्सिङ विषयमा अध्यनरत रहेका छन् ।

तपाईंको एजेन्डा के हुन् भनी पंक्तिकारले सोधेको प्रश्नमा सुवेदी अलि कडा बनेर उत्तर दिन्छन्- ‘यहाँ ठुलो कुरा गर्ने तर सिन्को नभाँच्ने प्रवृत्ति हाबी छ । मेरो के एजेण्डा हुनु ? किन एजेण्डा हुन आवश्यक छ ? मेरो एजेण्डा भनेको अहिले संघलाई जसरी प्रयोग गरिएको छ त्यसरी प्रयोग नगरेर संघलाई संघकै रूपमा सशक्त बनाइ डायस्पोराबाट नेपाल जोड्ने नै हो ।’