४४औँ प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

४४औँ प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त


नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

शर्मा ४४औँ प्रधानसेनापति हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ ।

कायम मुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका रथी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ ।

आफ्नो ३७वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष एवं सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गर्नुभएका शर्मा भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनुभएको छ ।

बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसकेका कारण उहाँको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गर्नुभएको छ ।

सरल स्वभाव, स्पष्ट वक्ता र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित कायम मुकायम प्रधानसेनापति शर्माको मुख्य प्राथमिकता कोभिड–१९का कारण प्रभावित तालिमलाई पुनः सञ्चालन गरी सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उहाँको प्रमुख कार्यभर रहनेछ । सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायम मुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन् ।