कांग्रेस अधिवेशनका विषयमा देउवा र पौडेलबीच सहमति !

कांग्रेस अधिवेशनका विषयमा देउवा र पौडेलबीच सहमति !



नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको बताइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिएका हुन् ।

सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले शनिबार आफूनिकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका ६ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए ।

नेता सिंहका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका छन् । शीर्ष तहमा कुरा मिलेपछि सम्भवतः आइतबार अनशन अन्त्य हुने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बताएका छन् ।

कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वनजनिक गर्नाका साथै अरू जिल्लाको पनि एक∕दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको बताइन्छ ।

बैठकमा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको नेता सिंहले जानकारी दिएका छन् ।

कांग्रेसकोे १४औँ महाधिवेशनअन्तर्गत गाउँ∕नगर वडा अधिवेशन यही भदौ १८, गाउँ∕नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन∕एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।