एनआरएनए युरोप क्षेत्रको संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

एनआरएनए युरोप क्षेत्रको संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी



यस्ता छन् एनआरएन अभियन्ता न्यौपानेका प्रतिबद्धता

लामो समयदेखि आयरल्याण्डलाई कर्मथलो बनाउँदै आएका शुक्रराज न्यौपानेले गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका लागि संयोजकको उम्मेदवारी घोषणा गरेका छन् । हाल क्षेत्रिय उप-संयोजक रही जिम्मेवारी निर्वाह गर्दै आएका न्यौपानेको उम्मेदवारी घोषणाले युरोपमा रही कर्म गर्दै आएका नेपालीबीच बेग्लै तरङ्ग पैदा गरेको छ ।

सन् २००४ देखि आयरल्याण्डमा बसोबास गर्दै आएका न्यौपाने गैरआवासीय नेपाली संघमा २००७ देखि नै संस्थापक सदस्यका रूपमा समाजमा जोडिएर आफ्ना गतिविधि गर्दै आइरहेका छन् । जन्मथलो पोखराको पर्यटकीय क्षेत्र लेकसाइड भएका न्यौपानेले २००९ देखि २०११ सम्म एक कार्यकाल आयरल्याण्डको एनसिसीको अध्यक्ष बनेर आफ्नो क्षमता वा खुबी आयरल्याण्डका नेपाली समुदायबीच परिचित गराएका थिए ।

संघको स्थापनाकालदेखि निरन्तर संघमार्फत समाजसेवामा जोडिएका उनी युरोपवासी नेपालीले संघको अझ गह्रौँ जिम्मेवारी दिएको खण्डमा डायस्पोरालाई मातृभूमिसँग जोड्ने कर्ममा सामेल हुने र कर्म गरेर देखाउने प्रतिबद्धता जाहेर गर्दछन् ।

वर्तमान युरोप उप-संयोजकको भूमिकालाई सन्तोषजनक रूपमा निभाएका न्यौपानेले आफ्ना केही प्रतिबद्धतासहित युरोपवासी नेपालीहरूमाझ जान चाहेको बताउँछन् ।

आफ्ना प्रतिबद्धताबारे प्रकाश पार्दै एनआरएन अभियन्ता न्यौपाने भन्छन्– ‘प्रथमतः अनावश्यक राजनैतिक हस्तक्षेपको कारणले गर्दा गैरआवासीय नेपाली संघको दृढ लक्ष्य प्राप्ति तथा यसको सांगठनिक धरातल कमजोर भएको महशुस भैरहेको छ । गैरआवासीय नेपाली संघले लिएको लक्षलाई तार्किक निष्कर्षमा पुर्याउँदै संघका गतिविधिहरूलाई अविछिन्न रूपमा कायम गर्न युरोपका नेपाली समुदायमा कृयाशील सम्पुर्ण संघ–सस्थाहरूसँग मैत्रीपूर्ण ब्यवहार, आपसी सद्भाव र सदब्यवहारको माध्यमद्वारा ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई सार्थक प्रयोग गर्दै विदेशमा बस्ने सबै नेपालीहरूको मर्यादित छाता संगठन एनआरएनए निर्माण गर्न प्रतिबद्धता जाहेर गर्दछु ।’

उनको प्रतिबद्धताको दोस्रो बुँदामा गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि निर्मित विधान, ऐन-नियम, नियमावली र उपनियमहरूको परिधिभित्र रही गैरआवासीय नेपाली संघका गतिविधिहरू संचालनमा ल्याउन कटिबद्ध रहने भन्ने छ ।

यसैगरी, युरोप क्षेत्रमा हुर्कदै गरेका नयाँ पुस्तालाई नेपाली संस्कृतिप्रति आकर्षण बढाउने खालको सांस्कृतिक कार्यक्रमहरूलाई निर्माण गर्दै एनआरएनएमा नव युवाहरूको सहभागिता गराउन विशेष पहल गर्ने उनको योजना छ । साथै प्रवासमा बस्दै गर्दा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई सामुहिक परियोजना तर्जुमा गर्दै मातृभूमिलाई समृद्ध बनाउने अभियानमा थप आयाम ल्याउन कटिबद्ध रहने न्यौपानेको प्रतिबद्धता छ ।

यूरोपलाई कर्म क्षेत्र बनाई काम गर्दै आउनुभएका सम्पुर्ण विज्ञहरूको संजाल निर्माण गरी यूरोपियन विज्ञ सम्मेलन आयोजन गर्ने र सोबाट प्राप्त बहुप्रतिष्ठित सुझावहरूलाई मातृभूमिको विकासमा कोशेढुंगाको रुपमा प्रयोगमा ल्याउन कृयाशील रहने अभियन्ता न्यौपानेको योजना छ ।

यूरोप क्षेत्रमा क्रियाशील एनसीसीहरूलाई थप उर्जा र हौसला प्रदान गर्न युरोपमा एनआरएनए अभियानमा महत्वपूर्ण योगदान गरेका अग्रज अभियन्ताहरूलाई समेटेर मुल्याङकन समिति गठन गर्ने र उहाँहरूको परामर्शमा ‘वेस्ट एनसीसी अवार्ड अफ द एयर’ घोषणा गरि पुरस्कृत गर्ने कार्यमा लाग्ने प्रतिबद्धता पनि न्यौपानेले जाहेर गरेका छन् ।

यस्तै, एकपटक नेपाली सधैंको नेपाली भन्ने गैरआवासीय नेपालीहरूको प्रमुख नारालाई ब्यवहारिक रुपमा रुपान्तरण गर्नको लागि निरन्तर रुपमा दबाबमुलक कार्यक्रम संचालन गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउने कार्यमा अग्रसर रहने उनले जनाएका छन् ।

‘गैरआवासीय नेपाली संघ युरोपियन क्षेत्रबाट संचालित परियोजनाहरू जसबाट नेपाललाई सहयोग हुन्छ, त्यस्ता परियोजनालाई निरन्तरता दिने कार्यमा क्रियाशील रहनेछु । साथै आपसी छलफलबाट मातृभूमिलाई गर्न सकिने सहयोगका बारेमा साझा अभिमत र सुझाव लिएर केही नयाँ योजना हरूलाई लिएर अगाडि बढ्नेछु’- न्यौपानेको भनाइ छ ।

यसैगरी, गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका पूर्वअध्यक्षहरूको अनुभवलाई संघको उर्जाको रूपमा प्रयोग गर्दै संघको संस्थागत विकासको लागि बहुप्रतिष्ठत कार्यक्रमहरूको तर्जुमा गरि ब्यबहारिक रुपमा रुपान्तरण गर्न क्रियाशील रहने न्यौपानेको प्रतिबद्धता छ । उनले भनेका छन्– ‘मेरो कार्य अवधिसम्म उहाँहरूद्वारा महत्वपूर्ण परामर्श लिएर समयको मागअनुसार गैरआवाशीय नेपाली संघलाई मर्यादित गराउने योजनाहरूको निर्माण गरी युरोप क्षेत्रका गतिविधिहरूलाई तीव्रता दिन हरहमेशा पहल गर्नेछु ।’

‘यूरोपमा नेपाली राजदूतावास स्थापना नभएका राष्ट्रहरूका लागि उक्त देशलाई हेर्ने दूतावाससँग सहकार्य गर्दै त्यहाँका गैरआवासीय नेपालीहरूलाई सहजताका लागि कन्सुलर सेवा तथा नेपाली प्रशासनिक प्रयोजनका लागि आवश्यक सेवाहरू, जस्तै- राहदानी (पासपोर्ट) नवीकरणलगायतका सुविधाहरू उपलब्ध गराउने कार्यमा इमान्दारीपूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछु ।’

युरोपवासी एनआरएनको अगुवा बनेर विशेष योगदान दिने अभीष्ट पालेका न्यौपानेले गैरआवासीय नेपाली संघअन्तर्गत रहेका एनसीसीका स्वस्थ विवादहरू पनि बाहिर आउँदा अस्वस्थ जस्तो देखिएको कारण संघप्रति अविश्वास र वितृष्णा बढ्न सक्ने हुँदा यस्ता विवादहरूलाई संघभित्रै समन्वय गरी मिलाउनका लागि मेरो विशेष पहल रहने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।