एनआरएनए उपाध्यक्षमा अधिकारीको उम्मेदवारी

एनआरएनए उपाध्यक्षमा अधिकारीको उम्मेदवारी


  • राजन घिमिरे

पद वा सही ठाउँ पाएर मात्र हुँदैन, पदलाई वजनदार तरिकाले प्रस्तुत गरेर वा काम गरेर देखाउन सकियो भने मात्र सबैको वाहवाही पाइन्छ । कतिले पद र मौका पाए पनि चाल पाउन नसक्दा पदको गरिमा बढाउन सकेनन् ।

प्रसंग गैरआवासीय नेपाली संघका उम्मेदवारहरुको हो । विश्वास गरेर मतदाताहरूले जिताएको ओशिनिया रिजनल कोअर्डिनेटर पदमा बहाल हुँदा धर्मराज अधिकारीले गरेको कार्यको आज पनि गैर आवासीय नेपालीहरूमाझ चर्चा हुने गरेको छ । त्यस समयमा नेपालमा डायस्पोराबाट गैरआवासीय नेपालीहरूलाई निमन्त्रणा गरेर अधिकारीले गरेको कार्य र पदकै गरिमा उच्च हुने गरि निभाएको सक्रियता उदाहरणीय मानिएको थियो ।

त्यतिबेला भनिएको थियो- ‘संघसंस्थामा कि त लाग्दैनलाग्नु लागेपछि मनदेखि नै लाग्नु, जसरी धर्मराज अधिकारी लागेका छन् ।’ वास्तवमा मनदेखि नै गैरआवासीय नेपाली संघ भनेर लागिपरेका सामाजिक अभियन्ता हुन् धर्मराज । संघप्रति दत्तचित्त भएर लागिपर्ने यिनै अधिकारीले गैरआवासीय नेपाली संघको सन् २०२१-२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारको रुपमा अगाडि आएका छन् । आफ्नो विगतका कार्यशैली र संस्थाप्रतिको ज़िम्मेवारीलाई इमान्दारीतासाथ निभाउने ब्यक्तिका रूपमा चिनिएका अधिकारीको उम्मेदवारीलाई गैरआवासीय नेपालीहरूले सकारात्मक रूपमा लिएको पाइएको छ ।

गैरआवासीय नेपाली संघमा २०२१-२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका अधिकारीले छिट्टै आफ्ना भावी नीति तथा कार्ययोजना सार्वजनिक गर्ने बुझिएको छ ।