अमेरिकाको लुइजियानामा भयानक आँधीको चेतावनी

अमेरिकाको लुइजियानामा भयानक आँधीको चेतावनी



दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ पठाइयो

अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशकयताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।

आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

स्थानीय समयअनुसार आइतबार बेलुका ‘आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ । आँधीसँगै २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका छन् ।

सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइडा निकै खतरनाक बन्ने देखिएको र केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । गल्फ अफ मेक्सिकोको मौसम गर्मी हुँदै जाँदा आँधी गम्भीर बनेको एएफपीले जनाएको छ ।

आइडालाई क्याटगोरी-२ बाट अति खतरनाक क्याटगोरी-४ घोषित गरिएको हो । लुइजिआनाको दक्षिणी क्षेत्रमा नेपाली समयअनुसार बेलुका पौने सात बजेदेखि तीव्र गतिको हावा चल्ने अनुमान छ ।

सन् २००५ मा न्यू अर्लियन्समा एक हजार जनाभन्दा धेरैको ज्यान लिएको क्याटगोरी–३ वर्गीकरण गरिएको क्याट्रिना आँधी अगस्ट २९ कै दिन आएको थियो ।

file photo