- आरपी उपाध्याय, नवलपरासी
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीमा डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्याल, नापी कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालयहरूको सेवा बन्द भएको हो ।
गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको भीषण बाढीले सदरमुकाम परासीबजार पुरै जलमग्न भएको थियो । बाढीमा नेपाली सेनाको ब्यारेक पनि डुबानमा परेको छ । डुबानमा परेका अन्य कार्यालयहरुमा स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नापी कार्यालय, निर्वाचन कार्यालय, नेपाल टेलिकमलगायत करिव एक दर्जन सरकारी कार्यालयहरु रहेका छन् ।

डुबानमा परेका अधिकांश कार्यालयहरूको महत्वपुर्ण कागजातहरु भिजेका छन् भने कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, स्क्यानरलगायतका मेसिनहरु पनि भिजेर काम नलाग्ने भएको छ । कार्यालयमा भिजेका कागजातहरु सुकाउँदै सुरक्षित गरिँदैछ भने बिग्रेका कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका उपकरणहरु मर्मत गराउँदै कार्यालयको सरसफाई कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
सदरमुकाम परासीनजिक रहेको झरही नदी र रावणखण्डा खोला ओभर फ्लो भई सदरमुकाम परासी बजारमा एक्कासि बाढी पसेको थियो । पश्चिम नवलपरासीमा आएको भीषण बाढि गत २८ वर्षयताकै सबैभन्दा ठूलो भएको स्थानीयले बताएका छन् ।

परासी बजारदेखि उत्तरतर्फ रहेको सहुवाटिकरबाट सदरमुकाममा पानी पसी गाउँबस्ती तर्फ बाढी पस्न थालेपछि स्थानीयले ज्यान जोगाउन घरको छत र सुरक्षित ठाउँ भाग्न थालेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिएका छन् । बाढीबाट दुई जनाको मृत्यु र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीले बताएको छ। एक्कासी आएको बाढीबाट बच्ने प्रयास गर्दागर्दै रामग्राम नगरपालिका वडा नंं. १८ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रमोद पासीको मृत्यु भएको छ । बाढीबाट बच्नका लागि सुरक्षित ठाँउमा जान लाग्दा बाढीमा डुबेर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाका अनुसार सुरक्षित स्थानतर्फ जान लाग्दा सुनवल १३ कि एरिसा तमाङ बेपत्ता भएको र उनको खोजी कार्य जारी छ ।
बाढीका कारण के कति क्षति भयो भन्ने एकिन भइनसकेको भए पनि स्थलगत अवलोकनबाट करोडौंको सम्पत्ति नष्ट भएको अनुमान पनि गरिएको छ ।
प्रतिक्रिया