ठूलो परिमाणमा कोकिनसहित तीन विदेशी पक्राउ

ठूलो परिमाणमा कोकिनसहित तीन विदेशी पक्राउ


आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले जनाएको छ ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौं आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका-१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो ।

कोकिनको कारोबारका लागि सोही होटलमा आएका भारतीय नागरिक विजय सिंहलाई भदौ ८ गते कमलादीबाट तथा ताञ्जेनियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोेलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको ब्यूरोले बताएको छ ।