सामुहिक योग्यताले सृजना गरेको विशिष्ट श्रम-श्रृङ्गार

सामुहिक योग्यताले सृजना गरेको विशिष्ट श्रम-श्रृङ्गार


समाज-सौन्दर्यका विपरीत चरित्रबारे

भिन्न सोचले निर्माण गरेका सुन्दरताभित्रका कुरूपताको अर्को आयाम पनि छ । त्यहि कुरूपताको आयामले युगिन क्रान्तिका क्रममा निर्माण भएको सुन्दरताको मोहकता बदलिरहन्छ ।


– डिल्ली अम्माई/बेल्जियम

पूर्वीय दर्शनमा व्याख्या भएअनुशार ‘सत्यम शिवम सुन्दरम्..’ ले विज्ञान खोज, सृष्टिकलाको साथै आत्मगत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रमाणिक ज्ञान, शिव सामाजिक न्याय र सुन्दर सृष्टि त्यागको मोहक कलाभाव भनेर अर्थ्याउन पनि सकिन्छ । पूर्वीय दर्शनमा रूप, लालित्य र साहित्य सौन्दर्यलाई ब्यापक रूपले चिरफार र व्याख्या गरिएको छ । तर इतिहासदेखि अहिलेसम्म मानवहरूबीच चलेको युगान्तकारी सङ्घर्षको आलोकमा भएको सामाजिक रूपान्तरणको सौन्दर्यबोधबारे विगतका दर्शनहरू प्रायः मौन छन् ।

परिवर्तन देख्ने तर त्योभित्र हुने त्याग र सौर्यको सुन्दरता नदेख्ने विगतको दार्शनिक परम्परामा खोट छ । दर्शनशास्त्रको मूल समस्याको सारतत्त्वबारे घोत्लिँदा, परस्परविरोधी सुन्दरताको अनुभूति हुन्छ तर त्योबारे बहस गर्न दर्शनशास्त्रीहरू अन्कनाउँछन् । यहाँ त्यही अहिलेसम्म कम छलफल गरिएका समाज सौन्दर्य विज्ञानका विपरीत मूलभुत दुई आयामबारे बहस चलाउन खोजिएको छ ।

पश्चिमा मान्यताअनुसार, सौन्दर्यशास्त्र (Aesthetics) संवेदनात्मक-भावनात्मक गुण-धर्म र मूल्य-मान्यताहरूको अध्ययन हो । कला, संस्कृति र प्रकृतिको भावात्मक सुन्दरता नै सौन्दर्यशास्त्र हो । सौन्दर्यशास्त्र दर्शनशास्त्रको त्यस्तो एक अंग हो जसले दर्शनलाई मार्मिक (स्वादिलो) बनाउँछ । कुनै सुन्दर बस्तुलाई देखेर हाम्रो मनमा जुन आनन्दानुभूति हुन्छ, त्यो त्यसको सौन्दर्य हो । सौन्दर्यको स्वभाव र स्वरूपको विवेचना जीवनका विविध अनुभूतिहरूसँग समन्वय स्थापित गर्दै कलासँग जोडेर मात्र गर्न सकिन्छ । सौन्दर्यशास्त्र दर्शनको एक शाखा भएकोले कला, साहित्य र सुन्दरताबाट अनुबन्धित प्रश्नहरूसँग जोडेर यसको विवेचना गरिएको पाइन्छ । ज्ञानको सीमाभन्दा बाहिर भिन्न इन्द्रियबोधद्वारा प्राप्त हुने मनोरमको लागि यूनानी भाषामा ‘एस्तेतिको’ शब्द राखिएको छ जसबाट अंग्रेजीमा ‘एस्थेटिक्स’को ब्युत्पत्ति भएको मानिन्छ । प्रकृति, कला र साहित्यसँग सम्बन्धित भएर क्लासिकल सौन्दर्यशास्त्रीय दृष्टिकोण विकसित हुँदै आएको हो ।

सौन्दर्यशास्त्रले साहित्य, कला, समाज विकास र सभ्यताले सृजना गरेका विविध संस्कृतिमा समेत आफ्नो स्थान बनाएको छ । समाज सौन्दर्य सभ्यताको विभत्स अनुभूति नभएर मिठो स्वाद हो, जसलाई महसूस गरेर आनन्द लिइन्छ । साथै त्यही आनन्दतर्फ हाम्रो सजीव गति सदैव प्रेरित भइरहन्छ ।

यहाँ समाज सौन्दर्यको त्यही फरक-फरक अनुभूतिलाई व्याख्या गर्ने प्रयत्न गरिएको छ ।

समाज ब्यवस्थाले सृजना गरेका बहुआयामिक स्वादमध्ये विशेषगरी दुई विपरीत प्रकारका प्रतिनिधिमुलक सामाजिक सौन्दर्यलाई अध्ययन गरिँदै आएको पाइन्छ । त्यसमा एउटा सौन्दर्यबोध समाज विकासको पछिल्लो उत्पादन सम्बन्धले सृजना गरेको ब्यक्तिगत स्वतन्त्रतासहितको निजी जीवन संस्कृति हो भने अर्को प्राकृतिक समतामुलक उत्पादन सम्बन्धसहित समुदायको अधीनमा रहेको प्रकृतिसापेक्षपूर्ण सामुहिक जीवन मूल्य पद्धति हो । यी दुवैमध्ये कुन सामाजिक पद्धति सर्वोत्कृष्ट वा उत्तम हो भन्ने कुरा अहिलेसम्म बहसकै विषय बनेको छ । मानिसका स्वार्थअनुरूप ती दुवै जीवन पद्धतिभित्रका सुन्दरता देख्ने आफ्ना-आफ्नै दृष्टिकोण छन् । त्यसको मुख्य निर्धारक तत्व आधुनिक राज्य व्यवस्थाभित्रको राजनैतिक संरचनालाई मानिँदै आएको भए पनि प्रतक्ष सम्बन्ध वर्तमान अर्थ प्रणाली अर्थात् उत्पादन र वितरण प्रणालीसँग जोडिएको छ ।

आदिम कालको शिकारी मानवले केवल अफ्नोे लागि मात्र सोच्न सक्दैनथ्यो । कारण ऊ समूहमा रहन्थ्यो र उसको सामुहिक दायित्वबाहेक ब्यक्तिगत हितको बारेमा सोच्ने क्षमताको विकास नै भएको थिएन । उसले प्राप्त गरेका हरेक उपलब्धि तत्कालिक कविला समुहका हुन्थे । त्यसलाई सबै सदस्यले आवश्यकताअनुकुल उपभोग गर्दथे । भनिन्छ, त्यही आदिम मानव समाजको सुन्दरताले नै ‘सर्वोहिताय’को समतावादी धारणा विकास गरेको हो । कविला समाजको अत्यन्त सुन्दर पक्ष भनेकै सामुहिक उत्पादन र समान वितरण प्रणालीलाई मान्न सकिन्छ ।

आधुनिक शैक्षिक क्षेत्रमा निजी र सामुहिक जीवन सौन्दर्यले ठुलो योगदान दिएका छन् । सामुदायिक र ब्यक्तिवादी दुवै सामाजिक दर्शनमा निहीत सौन्दर्यबोधका आ-आफ्ना फराकिला आयामहरू छन् । दुवै प्रकारका सोचको द्वन्द्व र परिणामहरूमा अभुतपूर्व भविष्यको सौन्दर्यलाई नियाल्न सकिन्छ । त्यसैले विगतको मानव सभ्यताले निर्माण गरेका फरक-फरक जीवन पद्धतिमा मानिसले छोड्न नसक्ने सुन्दरताको मोहकता निहीत छ भन्दा अत्युक्ति नहोला । त्यति हुँदाहुँदै पनि ती दुवै जीवन पद्धति समान गतिमा चीरकालसम्म सँगै जान सक्दैनन् । समाजशास्त्रीहरूको मतानुसार अन्त्यमा दुईमध्येको सर्वोकृष्ट एउटा सामाजिक प्रणालीले मानव सभ्यताको नेतृत्व गर्ने छ ।

सौन्दर्य बोधको आयाम :

जगत बोधगम्य छ कि छैन ? मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसको विकासका नियम थाहा पाउन सक्छ कि सक्दैन ? यी समस्याको हल नगरी सुन्दरताका विपरीत दुई आयामहरू बुझ्न सकिन्न ।

सौन्दर्यलाई हेर्ने र बुझ्ने संसारमा फरक-फरक दृष्टिकोणहरू छन् । तर विशेष गरी दुई विश्व दृष्टिकोण रहेको कुरा दार्शनिकहरूले स्विकार्दछन् । समाज विज्ञहरूका अनुसार समुदायका एकथरी मानिसहरूले मानव सभ्यतामा प्रयोग भएको सीप र श्रमलाई मानक मानेर सौन्दर्यलाई हेर्दछन् ।

ताकत, मेहनत, सिपले कलाक्षेत्रमा मात्र नभएर मानव सभ्यताले हजारौँ वर्ष अघि निर्माण गरेका इजिप्टको पिरामिड जस्तै सभ्यताका अवशेषहरूमा समेत अनेकन सौन्दर्य भरिदिएको छ । सभ्यताको निर्माण हुँदा बगेको पसिना, सिप, कला र प्रविधिले पौराणिक सभ्यताको एक युगीन सौन्दर्यलाई प्रतिनिधित्व गर्दछ । त्यसैले सौन्दर्यको लागि श्रम सौन्दर्य प्रधान हुँदाहुँदै पनि ज्ञान-प्रविधि, कला र समुदायको एकीकृत अभ्यासले सभ्यताको निर्माणमा कलाइको कार्य गर्दछ । यी सबै कुराको जोड-बलबाट निर्माण भएको सभ्यता नै वास्तवमा सुन्दर समाजभित्र मौलिक पहिचानको रूपमा विकास भएको हुन्छ ।

पौराणिक सभ्यताका सांस्कृतिक विरासतभित्र लुकेको सौन्दर्य भावले र बाँच्नको लागि गरिने अन्तरसङ्घर्षहरूले सामाजिक रूपान्तरणको लागि प्रेरणा पैदा गर्दछ । त्यो जागरणमा मानिसले एक प्रकारको नयाँ आशाको सुन्दर तस्बिर देख्छ र नयाँ आशाको छवि समाज विकासको नयाँ आयाममा प्रवेश गर्दछ । मानिस या समुदायलाई भविष्यप्रति आशावादी बनाउने प्रमुख आकर्षक तत्वविपरीत बीचको प्रतिष्पर्धासँग अन्तर्निहीत सौन्दर्यबोध हो ।

मानौँ, समान अवस्थामा कुनै एक स्त्री कसैको लागि अत्यन्त सुन्दर र कसैको लागि त्यही स्त्री सामान्य लाग्न सक्छ । कसैले उनीभित्र भएको श्रम, सिप र ज्ञानलाई बढी सुन्दर देख्छ । बाहिरी आवरणले उसलाई खासै प्रभाव पार्दैन, तर अर्कोले शारीरिक बनावटलाई महत्व दिन्छ । त्यसैले सुन्दरतालाई हेर्ने अन्तरदृष्टि सामाजिक सङ्घर्षले पैदा गरेको भिन्न-भिन्न बुझाइले निर्धारण गर्ने हुन्छ । जसलाई हामी चेतनाको तह पनि भन्न सक्छौँ । सामाजिक सौन्दर्यलाई बक्तिको कला तथा सौन्दर्यप्रतिको विश्व दृष्टिकोणसँग नजोडीकन बुझ्न सकिन्न भनेर सायद त्यसैले भनिएको होला ।

सौन्दर्यलाई हेर्ने र बुझ्ने कसरी ?

कला र सामाजिक सौन्दर्य समुदायको सामुहिक योग्यताले सृजना गरेको विशिष्ट एकीकृत श्रम श्रृङ्गार हो । भन्नु नपर्ला, सौन्दर्यको प्रधान पक्ष बाँच्नको लागि प्रकृतिसँग मानिसले गरेको अन्तर सङ्घर्षबाट प्राप्त आनन्ददायक भोजनको उपभोग हो जसको सम्बन्ध भोकको साथसाथै स्वादसँग पनि हुन्छ । प्रारम्भिक मानव समुदायभित्रको अन्तरनिहित प्रधान सुन्दरता त्यही सामुहिक भोजन हो । जो आवश्यकता अनुसार सबैमा वितरण गरिन्थ्यो । आदिम समाजको त्यो सुन्दर गुण नै आधुनिक समाजवादको सैद्धान्तिक भ्रुण पनि हो ।

त्यसपछि मानिसले आफ्नो समुदायको सुरक्षाको लागि प्रयोग गरेको ज्ञान, सिपको संयोजन, आफ्नो इलाकाभित्रको अन्तरनिर्भरताको समाधानका फरक-फरक अभ्यास पनि आदिम सुन्दर कलाभित्र पर्लान् । समाज विकासको गतिमा भएको विनिमय कलाको विकास, निजी सम्पतिको अभ्युदयसँगै सृजित मानिसको आर्थिक तहगत संरचना, वर्ग विद्रोह र सामाजिक रूपान्तरणले मानिसको भविष्यलाई अझ रोचक र सुन्दर बनाउँदै लागिरहेको छ । यो क्रम मानव सभ्यता रहेसम्म निरन्तर अगाडि गइरहने कुरामा कसैले शङ्का गर्नु आवश्यक छैन ।

मानव सोच र सभ्यताका फरक-फरक आयामबीच हुने सङ्घर्षले समुदायको सुन्दरतालाई क्रमशः भत्काउँदै लागेको कुरा हामीले महसूस गरेका छौँ । यसो हुनुको पनि कारण छ । त्यो कारण हो मानिसभित्र हुने मनोवैज्ञानिक कारण, अर्थात् विपरीतबीच हुने सङ्घर्षको कारण । नयाँ सामाजिक सुन्दरता चुलिने भनेकै पुरानो सोच, सामाजिक सम्बन्धको समाप्तिपछि हो । हाम्रो छोटो आयुको कारण सामाजिक परिवर्तनका गुणात्मक भिन्नता त्यति देख्न पाउदैनौँ । तसर्थ कहिलेकाहीँ त्यस्तो पनि हुन्छ र भनेजस्तो लाग्छ । हरेक युगमा मानव चेतनाले छलाङ लगाउँछ, विज्ञान र प्रविधिको विकासले हामीले अनुमान गर्न नसक्ने गरी फड्को मार्छ । परिवर्तनका चालकहरू समुदायको चेतनासँग सदैव जीवित रहन्छन् । जसलाई भविष्यको अझै सुन्दर प्रतीक्षाले सामाजिक सङ्घर्षबाट अलग हुन दिँदैन । समाज रूपान्तरणको प्रमुख कारक नै खोज र उन्नत समाजको आशामुखी प्रतीक्षा हो ।

अगाडि नै भनिसकियो कि संसारमा समुदायको हितलाई प्रधान मान्ने एक सोच छ । त्यो सोच अलिखित भए पनि आधुनिक मानव सभ्यताका प्रथम कविला समुदायको सोच हो । आदिम सिकारी समुदाय जसले आफ्नो समुहको हितमा आफ्नो हितलाई समाहित गरेको थियो । समुहवादी चिन्तन कविला समाजको सबैभन्दा सुन्दर ऐतिहासिक विरासत हो । सामाजशास्त्रीहरूले हाम्रा आदिम पुर्खाहरूको त्यही सामुहिक जीवन पद्दतिलाई आदिम समतामुलक समाज भनेर नामाकरण गरेका छन् ।

मानिसको प्रकृतिसँग हुने अन्तरसङ्घर्ष र अन्तरनिर्भरताले एक युग पार गरेपछि मानिस सुरक्षा, भोजनलगायत धेरै कारणले सामुहिक जीवन पद्दतिमा रहन सकेन । आफ्नो समुहको विस्तारले गर्दा प्रकृतिप्रदत्त भोजन मात्र उनीहरूको लागि पर्याप्त भएन । क्रमशः समुदायले खेती गर्ने सिपको विकास गर्‍यो । त्यसको लागि आफ्नो श्रम क्षेत्र विभाजन भयो । सामुहिक यौन जीवनको सौन्दर्य भत्कियो र ब्यक्तिवादी जीवन सौन्दर्यको शुरुवात भयो । मानव समुदायका स्थायी बसोबासबाट सृजित संरचनाले राज्यको प्रार्दुर्भाव गरायो । त्यसको संचालन गर्न नेतृत्वको आवश्यकता भयो र आदिम सामन्तहरू राजा बने । दासयुगलाई दास मालिकबीचको विद्रोहले र पछिल्लो सामन्तवादलाई उदार पुँजीवादी क्रान्तिले विस्थापित गर्दै गयो । जब समाज ब्यवस्थाभित्रको सुन्दरतालाई कुरूपताले परास्त गर्दै जान्छ, अनि समाज विकासले आफ्नो पुरानो रूप बदल्छ । सभ्यतामा विपरीतबीचको द्वन्द्व, सामाजिक एकता प्रक्रियागत रूपमा अन्तर्निहीत हुन्छ र त्यो द्वन्द्वको सुन्दरता भनेको पुरानो समाज ब्यवस्थाको रूपान्तरण हो । मानव सभ्यताहरूमा पनि विज्ञानमा झैँ गतिको नियम हाबी हुन्छ ।

मानव इतिहासका यी सबै मानव-सङ्घर्षलाई गहनतामा हेर्ने हो भने त्योभित्र अनेकौँ प्रकारले सौन्दर्य बोध गर्न सकिन्छ । आफ्नो इलाकाको सुरक्षाको लागि गरिएको त्याग, उत्पादन वृद्धि र उत्पादन सम्बन्धको लागि गरिएको ज्ञान, शीप र श्रम तथा मानिसको सामुहिक हितको लागि बनाइएको नियामक संरचनाभित्र अभूतपुर्व रूपमा सामाजिक सुन्दरताको अनुभूति गर्न सकिन्छ ।

साहित्यको सुन्दरता भाष्य रसानुभूति हो । दर्शनमा आशानुभूति, समाजसास्त्रमा सुखानुभूति र कलामा दिब्यानुभूतिलाई सुन्दरता मान्न सकिन्छ । सामुदायिक अनुभूतिमा पुरानो सुन्दरताले लोभ्याउन छाड्यो भने मानिसले त्यो सुन्दरताको विकल्प खोज्छ । उसले नयाँ सुन्दर समाजको परिकल्पना गर्न थाल्दछ । मानव सभ्यतामा ब्याक्तिको यहि रुचिगत प्रवृत्तिले प्रभाव जमाइरहेको हुन्छ । हो त्यही मोहक लोभ, अपनत्वको अनुभूति वा आशालाई हामीले दर्शनशास्त्रमा समाज सौन्दर्यको आँखाबाट मात्र देख्न सक्छौँ, महसूस गर्न सक्छौँ र बताउन सक्छौँ ।

सुन्दरताका पारखीहरूलाई एउटा के कुरा भन्नैपर्ने हुन्छ भने, मानिसले मानव सभ्यता, दर्शन र सामाजिक ब्यवहारलाई हेर्ने दृष्टिकोणबाट नै उसको सुन्दरताप्रतिको भाव निःसृत हुन्छ । त्यसलाई सौन्दर्यशास्त्रमा सामाजिक मूल्यप्रतिको रुझान भनिन्छ । मानौँ मेरो लागि प्रकृति र वातावरण प्रधान रुचिको विषय हुन सक्छ तर अर्कोको लागि पुँजीवादले निम्त्याएका उत्पादन सम्बन्ध र प्रकृति दोहनले निम्त्याउँदै गरेको भवितब्य भन्दा पुँजीवादी उपलब्धिले ल्याएको सुन्दरता महान् लाग्न सक्छ । सामाजिक सुन्दरताको पनि रूपान्तरण हुन्छ । त्यो सामाजिक रूपान्तरण वर्तमान सामाजिक सुन्दरताभन्दा अझ बढी चेतनायुक्त, मानवतावादी र समान न्याय सुन्दरताको आलोकमा मात्र सम्भव छ । त्यसैले भनिएको होला यी सबै कुराको निर्धारण मानव चेतनाको स्तरले गर्ने हो ।

अन्त्यमा, समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षणमा जोड दिने एउटा दार्शनिक विश्व दृष्टिकोण छ । जसलाई सम्वर्द्धनवाद वा परम्परावाद पनि भनिन्छ । त्यो विचारधाराले विगतको कन्जरभेटिज्ममा आनन्द, शान्ति र स्वाभिमानयुक्त मौलिकताभित्र सुन्दरता देखिरहेको हुन्छ । त्यो पक्ष गतिको नियमले ल्याउने आँधीबेहरी (क्रान्ति) र परिवर्तनपछि हुने रूपान्तरणमा विगतको सामाजिक सुन्दरता सम्झेर रुवाबासी गर्छ । उसको सामाजिक परिवर्तनलाई आत्मसात गर्ने वैज्ञानिक सोच धिमा हुँदा परिवर्तनको स्वाभाविक चाल बुझ्दैन । गतिको नियम बुझ्न नसक्ने समस्या उसको हेर्ने दृष्टिकोण वा सोचको हो, उ आफैं मात्र सामाजिक रूपान्तरणमा कुचालक र सुचालक हुन सक्दैन, किनकि सामाजिक परिवर्तन त त्यो समाजभित्रका सुन्दर पक्षहरूको ह्रास भएपछि हुने अन्तरसङ्घर्षको कारणले हुने हो ।

त्यसको विपरीत अर्को रूपान्तरणभित्र सुन्दरता देख्ने वैचारिक धार पनि छ, जसले विगतको सामाजिक मूल्यको विछोडमा रुवावासी गर्दैन । उसले भविष्यमा हुने सुन्दर परिवर्तनलाई महसूस मात्र नगरी आत्मसात पनि गर्छ । प्रगतिशील रूपान्तरणको लागि सचेत सङ्घर्ष गर्छ र मात्रात्मक परिवर्तनपछि हुने रूपान्तरण गुणलाई स्वीकार्छ । युग परिवर्तनको सिलसिलामा हुने सामाजिक हलचल, साँस्कृतिक हलचललाई गतिको नियमअनुसार स्वाभाविक मान्छ ।

थोमस हब्सको चिन्तनमा आधारित परम्परागत सामाजिक मूल्य भित्रको सुन्दरता र विपरीत वर्गबीचको अन्तरसङ्घर्षबाट सृजित सामाजिक क्रान्तिभित्रको सुन्दरता फरक-फरक भावमा महसूस गरिने सन्तुष्टिहरू हुन् । यी भिन्न सोचले निर्माण गरेका सुन्दरताभित्रका कुरूपताको अर्को आयाम पनि छ । त्यहि कुरूपताको आयामले युगिन क्रान्तिका क्रममा निर्माण भएको सुन्दरताको मोहकता बदलिरहन्छ ।