काबुलबाट एक लाख २० हजारभन्दा बढीको उद्धार गरेको अमेरिकी दाबी

काबुलबाट एक लाख २० हजारभन्दा बढीको उद्धार गरेको अमेरिकी दाबी


अफगानिस्तानमा उद्धार अभियानअन्तर्गत सुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनीतिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले उक्त कुरा बताएका हुन् ।

तालिबान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौताअनुरूप अमेरिकाले अगस्त ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो ।

उनले भनेका छन्- ‘विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरेको देखिएको छ । अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।’

‘योसँगै अब अफगानिस्तानमा हाम्रो २० वर्षे सैन्य उपस्थिति समाप्त भएको छ,’–अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् ।

मङ्गलबार अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनबारे अमेरिकी जनतालाई थप जानकारी गराइने पनि उनले बताए ।

‘यो अमेरिकी सैन्य प्रमुख तथा सबै अधिकारी र कार्यस्थलमा रहेका हाम्रा सबै कमान्डरहरूको सर्वसम्मत सिफारिस थियो ताकी योजनानुसार हाम्रो हवाई उद्धार सेवा अन्त्य भएको छ । सैन्य मिसन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो भने हाम्रो बहिर्गनसँगै अफगानिस्तान छोड्न चाहनेहरूका लागि सर्वसाधारणको प्रस्थानको सम्भावना सुरक्षित राख्नु हाम्रो कर्तव्य थियो ।’

अमेरिकी सैनिक परिचालनको २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो ।

‘म अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने र अमेरिकी नागरिक र अफगानीहरूलाई निकाल्ने सैन्य मिसनको अन्त्यको घोषणा गर्दछु,’ अमेरिकी जनरल केनेथ एफ म्याककेन्जीले भने । अन्तिम सी–१७ मङ्गलबार अमेरिकी समयअनुसार दिउँसो ३ः२९ बजे हमिद कार्जाई विमानस्थलबाट उडेको थियो ।

‘मैले अफगानिस्तान छोड्न चाहने कुनै पनि अमेरिकी, अफगान साझेदार र विदेशी नागरिकहरूका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न हाम्रा अन्तरराष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वयको नेतृत्व गर्न विदेशमन्त्रीसँग आग्रह गरेको छु,’ राष्ट्रपति बाइडेनले भने ।