‘नक्कली इन्जिनियर’ इन्जिनियरिङ कलेजको प्रमुख !

‘नक्कली इन्जिनियर’ इन्जिनियरिङ कलेजको प्रमुख !



जीवनमा इन्जिनियरिङ विषय नै नपढेका व्यक्ति इन्जिनियरिङ कलेजको प्रमुख (प्राचार्य) बने भने त्यसलाई कुन रूपमा बुझ्नुपर्ला ? भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषय नपढेका भन्दा पनि उक्त विषयको कृत्रिम प्रमाणपत्र प्राप्त गरेका व्यक्ति क्याम्पसप्रमुख बनेपछि उपरोक्त प्रश्न उठेको हो ।

हाइड्रोलोजी विज्ञान विषयको अध्ययन गरेका हरिकृष्ण श्रेष्ठलाई इन्जिनियरिङ परिषद्ले इन्जिनियर मानेर कसरी सदस्यता (प्रमाणपत्र) दियो, त्यो पनि आफैंमा आश्चर्यजनक मानिएको छ । त्यसमाथि सरकारी दृष्टिमा श्रेष्ठ दोषी हुन् र, अहिलेसम्म ‘फरार’ रहेका छन् । जलवायु विज्ञान विभागमा सन् १९८४ सम्म कार्यरत रहँदा श्रेष्ठले हाइड्रोलोजी विषयमा उच्च शिक्षा अध्ययनका निम्ति छात्रवृत्ति पाएका थिए र, अमेरिकामा अध्ययन पूरा गरेपछि सोही कार्यालयमा फर्किएर काम गर्ने शर्तनामासहित निजलाई विभागले खाइपाइ आएको तलव-भत्तासमेत पाँच वर्षसम्म उपलब्ध गराउँदै आएको थियो । तर हाइड्रोलोजीको पढाइ पूरा गरेर फर्किएपछि यिनी जलवायु विज्ञान विभागमा काम गर्न गएनन् । यसरी शर्तनामाअनुसार काम नगरेपछि सरकारले क्षतिपूर्ति दाबी गर्दै हरिकृष्ण श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी दृष्टिमा हरिकृष्ण अहिले पनि फरार छन् । फरार व्यक्तिलाई इन्जिनियरिङ कलेजले कसरी प्रमुख चयन गऱ्यो अर्को आश्चर्यको विषय बनेको छ ।

ज्ञातव्य छ, नेपालको ऐनले चार वर्ष इन्जिनियरिङ विषयको अध्ययन गरेका व्यक्तिलाई मात्र इन्जिनियरिङ काउन्सिलको सदस्यता दिने व्यवस्था गरेको छ । हाइड्रोलोजी अध्ययन गरेका व्यक्तिलाई इन्जिनियरिङको प्रमाणपत्र दिने हो भने इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर र केमेस्ट्री जस्ता विषयमा अध्ययन गरेका व्यक्तिलाई समेत उपलब्ध गराउनुपर्ने हुन्छ, जबकि उल्लिखित विषय पढेकालाई काउन्सिलले आफ्नो सदस्यताको प्रमाणपत्र उपलब्ध गराउने गर्दैन ।

इन्जिनियरिङ काउन्सिलबाट इन्जिनियरको प्रमाणपत्र (नं. १९६९ ब्) प्राप्त गरेपछि यिनले नेपाल इन्जिनियरिङ एशोसिएन ९ल्भ्ब्० मा समेत आफूलाई इन्जिनियर भनी दर्ता गराएको (जसको नं. ५५४६ रहेको) बुझिएको छ । नेपाल इन्जिनियरिङ एशोसिएनमा रजिष्टर केवल इन्जिनियरको मात्र हुन्छ । श्रेष्ठको यो अर्को कीर्ते काम मानिन्छ ।

यी व्यक्तिले नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र पाएको ३ वर्षपछि जापान गइ हाइड्रोलोजी विषयमा पिएचडी गरेका थिए । तर, उक्त पिएचडी (डिग्री) को काउन्सिलको प्रमाणपत्रमा कतै नरहने बताइन्छ ।

हाल निज श्रेष्ठले अर्को कीर्ते काम गरी नेपाल इन्जिनियरिङ काउन्सिलबाट प्रोफेसनल इन्जिनियरको समेत प्रमाणपत्र लिएका छन्, जुन २० वर्ष इन्जिनियर भइ काम गरेर काउन्सिलको परीक्षा पास गरेपछि पाइने पमाणपत्र हो । हरिकृष्णले यो प्रमाणपत्रलाई काउन्सिलले अवार्ड गरेको (पुरस्कार दिइएको भनी) तक्माका रूपमा प्रचार गराइरहेका छन् ।

श्रेष्ठमाथि तत्काल छानविन तथा अनुसन्धान गरी निजलाई आवश्यक कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठिरहेको छ ।