- सनत आचार्य
दाङको घोराही-लमही खण्डअन्तर्गत गोग्लीनजिक पर्ने सिस्नेखोलाले बुधबार राति गुडिरहेको कार बगाउँदा कारमा सवार एकै घरका दुई दिदी-बहिनीसहित चार जनाको मृत्यु भएको छ ।
राति करिब पौने दश बजे नेपालगञ्जनजिक रहेको भारतीय सीमानाका रुपैडिहाबाट सामान किनेर फर्किंदै गर्दा प्रदेश ३ –१–०२४ च ४४४० नम्बरको कार निर्माणाधीन एक पुलमुनिको डाइभर्सनबाट बगेको थियो ।
कारमा सवार दुई दिदी-बहिनी घोराही उपमहानगरपालिका १३ कि ३२ वर्षीया सुशीला श्रेष्ठ र सोही उपमहानगरपालिकानिवासी ३० वर्षीया राधा श्रेष्ठ कुँवरको शव प्रहरीले दुई दिदीबहिनीको शव घटनामा परेको कारभित्रबाटै निकालेको थियो भने उपमहानगरपालिका-१३ निवासी ४० वर्षीया रीतामाया पुन र १४ वडाकी विमला केसीको शव बिहीबार बिहान घटनास्थल भन्दा करिव साढे तीन किलोमिटर तल बेलुवानजिक फेला परेको थियो ।

कारचालक नरबहादुर पुनलाई भने प्रहरीले बुधबार राति नै घाइते अवस्थामा फेलापारेको थियो । चालकको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
यस घटनाले दाङका सर्वसाधारणमा आक्रोस श्रृजना गरेको छ । निर्माणाधीन पुलको ठेकेदार श्री एडभेन्चर जेबी कम्पनीले २०७४ सालमा ठेक्का पाएर पनि काममा ढिलाइ गरिरहेको थियो । जिल्ला प्रशासनले पटक पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काममा ढिलाई गर्दै आएको बताइन्छ । समयमै काम सकेको भए आज यस्तो दुर्घटना हुने थिएन भन्दै ठेकेदार कम्पनीलाई कारवाही हुनुपर्ने माग स्थानीयले गरेका छन् ।

ठेकेदारको चरम लापरवाही र ढिलासुस्तीका कारण नै यो दुःखद् घटना हुन पुगेको सर्वसाधारणको निष्कर्ष छ ।
ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेको भन्दै जिल्ला प्रशासनले २०७८ साउन २५ गते ठेकेदार कम्पनीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय दाङमा उपस्थित गराउन बाँके प्रहरीलाई पत्र काटेको थियो ।
तर ठेकेदार कम्पनीका प्रतिनिधि केसीले प्रशासन कार्यालयमा उपस्थित नभइ टेलिफोनबाट प्रजिअ रामबहादुर कुरुम्वाङलाई थपिएको म्यादभित्रै काम सक्नेछु भनी जानकारी गराएका बताइन्छ । उनको प्रतिबद्धतापछि प्रजिअ कुरुम्वाङले यज्ञ खत्रीको प्रतिबद्धता भन्दै जुलाई १२ मा आफ्नो फेसबुकमार्फत स्टाटस सेयर गरेका थिए ।
प्रतिक्रिया