भारत सरकारको चार अर्ब २० करोड अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर
नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा स्वास्थ्य परियोजनाहतको पुनर्निर्माणको लागि भारत सरकारले चार अर्ब २० करोड आर्थिक अनुदान सहयोग गर्ने भएको छ ।
नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
दूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
२०७२ सालको भूकम्पले क्षति पुगेका उल्लिखित परियोजनाहरूको पुनर्निर्माण चार अर्ब २० करोड अनुदान सहयोगमा गरिने बताइएको छ । सम्झौताअनुसार दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ । उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरू तथा भारत सरकारको परियोजना परामर्शदाता INTACH/CBRI का प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
ज्ञातव्य छ, शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि सय मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ । त्यस्तै, नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा घरहरूको निर्माण भइरहेको छ ।
यी सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया