शुक्रबार (१८ भदौ)देखि प्रारम्भ भएको नेपाली कांग्रेसको गाउँ/नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ मध्ये ३५ जिल्लामा शुक्रबार वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिबार आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् ।
५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन शनिबारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने बतनाइएको छ । यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडाअधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।
यसबाहेक वडा अधिवेशनमा मतदाता सङ्ख्याको अनुपातका आधारमा वडासदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित हुन्छन् ।
महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
प्रतिक्रिया