मनकामना केबुलकार आइतबारबाट पुनः सञ्चालनमा आउने

मनकामना केबुलकार आइतबारबाट पुनः सञ्चालनमा आउने



कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार २० भदौ आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गत वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ’, अध्यक्ष श्रेष्ठको भनाइ छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको सञ्चालक पक्षको भनाइ छ ।

श्रेष्ठले जानकारी दिएअनुसार मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको छ ।