ज्युँदो माछाको टाउको टोक्दा तत्कालै मृत्यु !

ज्युँदो माछाको टाउको टोक्दा तत्कालै मृत्यु !


  • दाङ प्रतिनिधि

अढैया जातको माछाको टाउको मुखले टोकेलगत्तै बहोस भएका लमहीका एक ब्यक्तिको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछाको टाउको फटफटाउन थालेपछि आफ्नै मुखले टोकिदिएका थिए ।

माछाको टाउको टोकेलगत्तै घर्ती बेहोस हुन पुगे । उनलाई तत्काल उद्धार गरी लमही अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

घटनाको पुष्टि गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको बताए ।

घटना विवरणअनुसार मृतक घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने लगभग एक हात लामो अढैया जातको माछा परेपछि उनले पानीबाट बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पार्नेवित्तिकै घर्ती बेहोस हुन पुगेका थिए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पुर्‍याएकी थिइन् । अस्पताल पुर्‍याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए, तर त्यस बीचमै घर्तीको मृत्यु भइसकेको बताइएको छ ।

उक्त अढैया जातको सर्पको टाउकोमा विष रहेको हुन सक्ने ठानिएको छ भने घर्तीलाई एकाएक हृदयघात भएको हुन सक्ने आशंका पनि गरिएको छ ।

यसअघि यस्तो अनौँठो घटना जानकारीमा नभएको उल्लेख गर्दै प्रहरी निरिक्षक पौडेलले पोष्ट मार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्युको कारण स्पष्ट भन्न नसकिने बताए ।