थप दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने

थप दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने


उत्तर पश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्फयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

ज्ञातव्य छ, गएराति काठमाडौं उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परेको थियो । काठमाडौंका विभिन्न स्थान डुबानमा पार्ने गरी भएको आइतबार रातिको वर्षालाई पाँच दशकयताको तेस्रो ठूलो वर्षा मानिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा गएराति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।