पाँचखालको घरबारविहीन परिवारलाई बेल्जियमवासी गौतमको आर्थिक सहयोग

पाँचखालको घरबारविहीन परिवारलाई बेल्जियमवासी गौतमको आर्थिक सहयोग


  • सनत आचार्य, बेल्जियम

काभ्रे जिल्ला नयाँगाउँ स्थायी घर भइ बेल्जियमको लुभेन शहरमा रहँदै आएका नवराज (आशीष) गौतमले नयाँगाउँमै घरवासविहीन अवस्थामा जीवन गुजार्दै आएका कृष्णलाल श्रेष्ठको परिवारलाई पचास हजार नगद आर्थिक सहयोग प्रदान गरेका छन् ।

आफ्नै वडावासी श्रेष्ठको घर नभएको सुन्दा आफू दुःखदाश्चर्यमा परेको भन्दै गौतमले यस कुराले तनावमा परेपछि श्रेष्ठ-परिवारको सानो भए पनि घर होस् भन्ने सोचअनुसार आफूले यो सानो सहयोग गरेको बताए ।

गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र संचार अहिलेको जमानामा आधारभूत आवश्यकता भएता पनि यो जमानामा ओत लाग्ने घरसमेत नहुनु अत्यन्त दुःखको कुरा भएको गौतमको भनाइ छ ।

उनी भन्छन्- ‘यो काम त सरकारको हो, तर सरकारले गर्न नसक्दा आफूले सक्दो सहयोग गरेको र भविष्यमा पनि यस्ता परिवारको छानोको जोहो गर्न विदेशमा बस्ने नेपालीहरूले पहल र सहयोग गर्नुपर्छ भन्ने लागेको छ । यसका लागि म प्रवासी समुदायलाई घच्घच्याउने छु ।’

गौतमले श्रेष्ठको विपन्न परिवारलाई सहयोग गरेकोमा पाँचखाल नगरपालिका-१० ले धन्यवाद ज्ञापन गरेको छ ।

दुई छोरा र दुई छोरीसहित ६ जनाको परिवार रहेको श्रेष्ठ-परिवारले यो रकम घर निर्माणकै लागि खर्च गर्ने जनाएको छ ।