एमसीसी मामलाबारे बुझ्न चार दिवसीय भ्रमणमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले अनुमोदनको प्रक्रिया अघि बढाइदिनुपर्ने अमेरिकी पोजिसन रहेको जानकारी दिँदै प्रक्रियामा सघाउन नेकपा (एमाले)लाई आग्रह गरेकी छन् ।
बिहीबार नेपाल आगमनलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न केपीनिवास बालकोट पुगेकी उपाध्यक्ष सुमारले आफ्नो पक्षबाट कुरा राख्दै सघाइदिन आग्रह गरेकी हुन् ।
सुमारको आग्रहको जवाफमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले एमसीसी अनुदान सम्झौताबारे तत्काल धारणा नबनाउने संकेत गर्दै गठबन्धन सरकारमा सहभागी (सत्तारुढ) दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा स्पष्ट पार्ने जवाफ दिएका बुझिएको छ ।
एमाले सरकारमा रहँदा माओवादी कित्ताबाट सभामुख बनेका अग्नि सापकोटालगायत केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको स्मरण गराउँदै अध्यक्ष ओलीले सत्तारुढ दलहरुका साथै सरकारले यसबारे अहिलेसम्म एमालेसँग कुनै परामर्श नगरेको जानकारी दिएका थिए ।
ज्ञातव्य छ, एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहित नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया