नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज (२४ भदौ) राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच कायम मुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मालाई महारथी दर्जाको दर्ज्याानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४४औँ प्रधानसेनापति बन्न सफल हुनुभएका प्रधानसेनापति शर्मालाई पद तथा गोपनीयताको सपथसमेत गराउनुभयो ।

यही भाद्र ३ गतेको मन्त्रीपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा बढुवा गरी प्रधानसेनापतिमा नियुक्ती प्रदान गर्न गरेको सिफारिसबमोजिम नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
सैनिक परम्पराअनुसार नवनियुक्त प्रधानसेनापतिलाई जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेपश्चात उहाँले कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको छ ।
कार्यालय बहालीपश्चात प्रधानसेनापति शर्माले पिएसओज बैठक कक्षमा नेपाली सेनाका रथीहरूसँग भेटघाट तथा निर्देशन दिनुभएको थियो । नवनियुक्त प्रधानसेनापति शर्माले बिहीबार नै सैनिक मञ्च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गर्नुभयो भने शुक्रबार सकलदर्जालाई सभामण्डपबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
वि.सं. २०२० पौष ९ गते काठमाडौंमा जन्मनुभएका प्रधानसेनापति शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । यसअघि वहाँले बलाधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेपाली सेनाका ४४औं प्रधानसेनापति महारथी प्रभुराम शर्माको बायोडाटा
महारथी प्रभुराम शर्माको जन्म सितापाइला, काठमाण्डौमा भएको थियो । उहाँले नेपाली सैनिक प्रतिष्ठान, खरीपाटीबाट अधिकृत आधार तालिम पूरा गरी सहायक सेनानीको दर्ज्यानी चिन्ह प्राप्त गरेपश्चात् २०४० सालमा श्री पुरानो गोरख गण (मदर युनिट) मा नियुक्ति पाउनुभएको थियो ।
महारथी शर्माले स्वदेश र विदेशस्थित प्रतिष्ठित सैनिक तालिम केन्द्रहरुबाट विभिन्न तालिम तथा सेमिनारहरु सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँले संयुक्त राज्य अमेरिकाबाट सैनिक प्रहरी एड्भान्स तालिम, नेपाली सैनिक वार कलेज नगरकोटबाट गुल्मपति तथा स्टाफ तालिम, सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीबाट कमाण्ड तथा स्टाफ तालिम र भारतबाट National Defense Course (NDC) सफलतापुर्वक पूरा गर्नु भएको छ । यसका साथै उहाँले संयुक्त राज्य अमेरिकाबाट Comprehensive Security Response to Terrorism र Strategic Studies Seminar on Counter Terrorism Conference का साथै वाशिङ्गटन डीसी स्थित Near East South Asia (NESA) Centre मा NESA Counter Terrorism (CT) Senior Executive Seminar मा सहभागी हुनु भएको छ।त्यसैगरी उहाँ अमेरिकाको होनोलुलु, हवाईस्थित Asia-Pacific Centre for Security Studies (APCSS) बाट Executive Course एवम् Land Forces of the Pacific (LANPAC-2020) Symposium र अमेरिकाकै हार्वड विश्वविद्यालयमा संचालन भएको The General and Flag Officer Homeland Security Executive Seminar मा सहभागी समेत हुनुभएको छ।उहाँले भारतमा गुणमापक तालिम (Technical Officer/TO), थाईल्याण्डमा Indo-Pacific Chief of Defence Conference, पाकिस्तानमा International Defence Exhibition and Seminar र बंगलादेशबाट UN Peace Keeping Operation Contingent Commander Course सफलतापूर्वक पूरा गर्नु भएको छ।त्यसैगरी उहाँले नेपाल भारत बिच वार्षिक रुपमा संचालन हुने Nepal and India Bilateral Consultant Group Meeting मा भारतमा समेत सहभागिता जनाउनुभएको छ ।

महारथी शर्माले आफ्नो ३७ बर्षे लामो सैनिक सेवाको दौरान स्वदेश र विदेशमा विभिन्न शिक्षक, कमाण्ड तथा स्टाफ नियुक्तिहरुमा सफलतापूर्वक आफ्ना जिम्मेवारीहरु पूरा गर्नुभएको छ। उहाँले भैरव गुल्म (अनाश्रित), पुरानो गोरख गण, नं. ३ र ६ पदिक बाहिनी तथा मध्य पृतनाको सफलतापूर्वक कमाण्ड पूरा गर्नुभएको छ । त्यसैगरी उहाँले बाहिनी सेनानी, पृतना अपरेशन अधिकृत, सैनिक सचिव, भर्ना छनौट निर्देशक, स्टाफ ड्युटिज, नीति तथा योजना निर्देशक र सह-बलाध्यक्षको जिम्मेवारी निभाउनु भएको थियो । यसका साथै उहाँले युद्धकार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षको जिम्मेवारीहरु पूरा गरी सक्नु भएको छ । प्रधान सेनापतिमा नियुक्ति हुनु पुर्व उहाँ बलाधिकृतको रुपमा कार्यरत हुनु हुन्थ्यो ।
महारथी शर्माले सन् २००१ मा पूर्वी टिमोर स्थित संयुक्त राष्ट्र संघको (UNTAET-3) शान्ति मिशनमा नारायण दल गुल्म र सन् २००४ मा कङ्गोस्थित संयुक्त राष्ट्र संघको (MONUSCO) शान्ति मिशनमा पुरानो गोरख गणको सफलतापूर्वक कमाण्ड सम्पन्न गर्नुभएको थियो । त्यसैगरी उहाँले सन् २००८ देखि २०११ सम्म बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदुताबासमा सैनिक सहचारीको रुपमा समेत जिम्मेवारी बहन गर्नुभएको थियो ।
महारथी शर्माले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम.ए. र सन् २०१४ मा भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एम.फिल. गर्नुभएको थियो । उत्कृष्ट र प्रेरणादायी राष्ट्र सेवाका खातिर नेपाल सरकारले उहाँलाई सुप्रबल जनसेवा श्री मानपदवीबाट विभुषित गरेको छ ।
स्व. प्राध्यापक गणेश बल्लभ पौडेल र स्व. सुभद्रा शर्मा पौडेलका दोश्रो सुपुत्र महारथी प्रभुराम शर्माका अर्धाङ्गिनी श्रीमती सुनिता शर्मा हुनुहुन्छ भने उहाँहरुका दुई सुपुत्रीहरु, मौनिक्क्षा र श्रेया हुनुहुन्छ ।
फुर्सदको समयमा भ्रमण गर्नु उहाँको रुची रहेको छ।
स्रोत : नेपाली सेना
प्रतिक्रिया