सहयोग-सामग्रीलाई चुनावी हतियार बनाउन खोजेपछि जोशीद्वारा तथ्य खुलासा

सहयोग-सामग्रीलाई चुनावी हतियार बनाउन खोजेपछि जोशीद्वारा तथ्य खुलासा


अमेरिका बस्ने नेपाली समुदायले हालै नेपाल पठाएको स्वास्थ्य सामग्रीसम्बन्धी विषय जोडेर आफूबारे गरिएका टीकाटिप्पणीले आफूलाई गम्भीर बनाएको एनआरएनए सचिव गौरीराज जोशीले बताएका छन् । उक्त सहयोगको जोशीले विरोध जनाएको भन्दै सुनियोजित रूपमा आलोचना गरिएपछि एक विज्ञप्तिमार्फत् एनआरएन अभियन्ता जोशीले नेपालका लागि जाने सहयोगप्रति आफ्नो सधैं समर्थन र सहयोग रहँदै आएको स्पष्टिकरण दिएका हुन् ।

नेपाल पठाइएको उक्त स्वास्थ्य सामग्रीमा पनि आफूले पनि व्यक्तिगत रूपमा सहयोग गरेको उल्लेख गर्दै जोशीले सो सहयोगप्रति आफ्नो विरोध हुने प्रश्न नै नरहेको प्रष्ट्याएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्- ‘…तर, यो सहयोगलाई एनआरएनएको चुनाव-राजनीतिको विषय बनाइनु हुन्न भन्ने मेरो प्रयास हो । सामाजिक सहयोग यसै पनि राजनीति र चुनावको विषय हुनु हुँदैन । यस्तो कार्य पवित्र उद्देश्यले गरिन्छ । चुनावको नतिजालाई आफ्नो पक्षमा पार्ने दुर्उद्देश्यका साथ यस्तो सहयोगलाई प्रचारप्रसार गर्दा भविष्यमा नकरात्मक असर पर्छ भन्ने मेरो बुझाइ छ ।’

जोशीले आफ्नो विज्ञप्तिमा अगाडि भनेका छन्- ‘यस तथ्यका विपरीत आगामी एनआरएनएको चुनावमा फाइदा-बेफाइदा हेरेर मेरो बारेमा गलत प्रचारप्रसार भएको मैले अनुभव गरेको छु । एनआरएनए अमेरिकाले नेपाल सरकारलाई हालै हस्तान्तरण गरेको उक्त सहयोग मेरो र अमेरिका बस्ने अन्य नेपाली समुदायको सामुहिक प्रयासबाट सम्भव भएको हो भन्ने जानकारी पनि गराउन चाहन्छु ।’

आगामी एनआरएनए नेतृत्वका लागि हुन लागेको चुनावमा आफ्नो उम्मेदवारीको विषयलाई लिएर उक्त सहयोगका बारेमा प्रश्न नउठाएको भन्दै जोशीले केवल सहयोगका नाममा गलत प्रवृत्ति हाबी हुन नपाओस् भन्ने मान्यतावश स्पष्टिकरण दिइएको र यसमा आफू अडिग रहेको पनि जानकारी दिएका छन् ।