एनआरएनएको महिला संयोजकमा कोरियावासी गुरुङको उम्मेदवारी

एनआरएनएको महिला संयोजकमा कोरियावासी गुरुङको उम्मेदवारी


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को महिला संयोजकमा दक्षिण कोरियाबाट जुनु गुरुङले उम्मेदवारी दिने भएकी छन् ।

एनआरएनए दक्षिण कोरियाको परिषदमा पनि सक्रिय रहेकी गुरुङ कोरियामा रहेका महिलाहरूको संस्था ‘वमेन फर वमेन’को अध्यक्ष रही कोरियामा बसोबास गर्ने प्रवासी नेपालीहरूलाई विभिन्न तवरबाट सहयोग गर्दै आएकी छन् ।

यसका अलावा उनले कोरियामा क्रियाशील दर्जनौँ संघ-संस्थाका संरक्षक र सल्लाहकारको भूमिकामा रही सक्रियतापूर्वक काम गर्दै आइरहेकी छन् । कोरियाको नेपाली समुदायमा चर्चित तथा लोकप्रिय जुनुको कामबाट प्रभावित भई कोरियाली सरकारले उनलाई मानार्थ नागरिकताबाट पनि सम्मानित गरेको छ ।

महिलाहरूको साझा संस्था वेमन फर वेमन (महिलाका लागि महिला) को संस्थापक अध्यक्षमा रहँदा गुरुङले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्ने र नेपालबाट वैवाहिक सम्बन्ध स्थापित गरी कोरिया आएका महिलाहरूलाई कानुनी परामर्श समेत दिँदै सहयोग उपलब्ध गराउँदै आएकी छन् ।

गुरुङले कोरियामा समस्यामा परेका झण्डै एक हजारभन्दा बढी नेपालीहरुलाई उद्दार कार्यमा समेत सहयोग गरेकी छन्् । त्यस्तै, विभिन्न समस्यामा परेका नेपालीलाई निःशुल्क सेल्टरको व्यवस्था गरी राख्ने व्यवस्था मिलाउने निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन् । कोरियामा भाषा नजान्ने नेपालीहरूलाई निःशुल्क कोरियन भाषा सिकाउने कक्षाको व्यवस्था गर्ने पात्रको रूपमा पनि उनी चिनिन्छिन् ।

एनआरएनमा जुनु गुरुङको आवद्धता पनि लामै छ । उनी सन् २०१७ देखि २०१९ सम्म अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रिय महिला संयोजक तथा मानार्थ परिषद् सदस्य लगायतका विभिन्न जिम्मेवार पदमा रहेर काम गर्दै आएकी छन् ।

एनआरएनमा सांगठनिक सुदृढीकरण, महिला समावेशिता, महिला नेतृत्व विकास, महिला सशक्तिकरण र महिला उद्यमशीलता लगायत पाँच मुख्य एजेन्डालाई अगाडि बढाउनका लागि आफ्नो उम्मेदवारी दिएको गुरुङले बताएकी छन् । गुरुङले कुल आचार्यको प्यानलबाट उम्मेदवारी दिने जनाएकी छन् ।