सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी-१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरीले जनाएको छ ।
गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल पुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता मिलेको छ ।
प्रहरीले लोकबहादुरको घरनजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको अभियुक्तले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै राससले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया