राणाको निधनमा राखेप परिसरमा शोकसभा

राणाको निधनमा राखेप परिसरमा शोकसभा



राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रुक्मशमशेर राणाको निधन भएको छ । राणाको भदौ २५ गते शुक्रबार राति ८५ वर्षको उमेरमा बत्तीसपुतलीस्थित निवासमा निधन भएको हो ।

स्व. राणा दुई पटक राखेपको सदस्यसचिव बनेका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल तेक्वान्दो संघ, नेपाल एथलेटिक्स संघका पूर्वअध्यक्ष हुन् । राणा एनओसीका मानार्थ अध्यक्ष थिए ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले राणाको पार्थिव शरीरमा राखेपको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. राणाको शनिबार पशुपति आर्याघाटमा अन्त्यष्टि गरिएको छ ।

राखेपले राणाको निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राणाको निधनमा राखेपले आइतबार अपरान्ह ४ः०० बजे, त्रिपुेश्वरस्थित राखेप परिसरमा शोकसभा आयोजना गर्ने भएको छ ।