बेलायतकी एम्मा रादुकानुले जितिन् युएस ओपनको उपाधि

बेलायतकी एम्मा रादुकानुले जितिन् युएस ओपनको उपाधि



बेलायतकी १८ वर्षीय एम्मा रादुकानुले युएस ओपन २०२१ को महिला सिङ्गलको उपाधि जितेकी छिन् । एम्माले फाइनलमा क्यानडाकी १९ वर्षीय लिलह फर्नान्डेजलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरेकी हुन् । यो दुवै खेलाडी पहिलो ग्य्राण्ड स्ल्याम फाइनल थियो ।

युएस ओपनको उपाधि जितेसँगै रादुकान ५३ वर्षपछि यो उपाधि जित्ने बेलायतकी पहिलो खेलाडी बनेकी छन् । यो भन्दाअघि बेलायती खेलाडी भर्जिनिया वेडले सन् १९७७ मा विम्बल्डनको उपाधि जितेकी थिइन् । युएस ओपनको उपाधि जित्ने क्रममा एम्माले कुनै सेट पनि गुमाउनु परेन् । एम्माले सबै १८ सेट जितेर कीर्तिमानसमेत बनाइन् ।

एम्माले सेमिफाइनलमा ग्रीसकी १७औँ बरियता प्राप्त मारिया सकारीलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गरेकी थिइन् । त्यस्तै, लीलहले दोश्रो वरियता प्राप्त आर्यना सबालेन्कालाई ७–६, ४–६ र ६–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् ।

युएस ओपनको इतिहासमा सन् १९९९ पछि पहिलो पटक दुई किशोरीले फाइनलमा भीडन्त गरेका थिए । सन् १९९९ मा पहिलो पटक अमेरिकाकी १७ वर्षीय सेरेना विलियम्स र स्वीट्जरल्याण्डकी १८ वर्षीय मार्टिना हिङ्गीजले युएस ओपनको फाइनलमा भिडेका थिए । सन् १९६८ बाट व्यावसायिक टेनिसको शुरु भएयता गैरवरियता प्राप्त खेलाडीहरू ग्य्राण्ड स्ल्यामको फाइनलमा भीडन्त गरेको यो पहिलो अवसर हो ।

एम्माले युएस ओपन महिला सिङ्गलको उपाधि जितेपछि खुशी प्रकट गर्दै महिला टेनिसको भविष्य उज्ज्वल भएको बताइन् । साथै एम्माले महिला ‘ड्र’मा सामेल प्रत्येक खेलाडीले ग्य्राण्ड स्ल्याम जित्ने सक्ने दाबी गरिन् । त्यस्तै फाइनलमा पराजित ट्रफी वितरण समारोहमा आँखाभरि आँशु पार्दै भनिन्- ‘म अर्को वर्ष फेरि फाइनलमा प्रवेश गर्नेछु र ट्रफी मैले जित्नेछु ।’