सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवालाई कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य हुने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रले डोटी जिल्ला सदरमुकाम सिलगढीमा बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेशवासी नागरिक तथा युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिनेलगायत कार्यक्रम अघि सारेकाले अब युवाले घरैमा रोजगार पाउने आश्वासन दिए ।
कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने- ‘नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौँ, अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’
कृषि क्षेत्रलगायत विभिन्न काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका कारण अब कोही पनि बेरोजगार नहुने उनको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले अन्य कुराहरु छोडेर नागरिकको विकासमा लाग्नुपर्ने जिकिर गरे । प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले गति पाएको दाबी उनले गरे ।
सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम सुरु भएको भन्दै अब देशविदेशमै यहाँका पर्यटकीय क्षेत्र चिनिने पनि उनले बताए ।
मुख्यमन्त्री भट्टले वर्षौँदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणका लागि केन्द्र सरकारसँग पहल भइरहेको जानकारी दिँदै उनले भने- ‘प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएका कारण केन्द्र सरकारसँग निर्माणका लागि पहल गरिरहेका छौँ, पश्चिम सेती मात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुन्छ ।’

pict:rss
प्रतिक्रिया