छैटौँ अधिवेशनको तयारीमा जनसम्पर्क समिति पोर्चुगल

छैटौँ अधिवेशनको तयारीमा जनसम्पर्क समिति पोर्चुगल


  • विशेष प्रतिनिधि

नेपाली कांग्रेस पार्टीको १४औँ महाधिवेशनका लागि देशभित्र पार्टीका विविध तहमा निर्वाचनको प्रक्रिया सुरु हुँदै गर्दा, डायस्पोरामा रहेको यसको भातृसंस्था जनसम्पर्क समितिहरुमा पनि अधिवेशन र चुनावी चर्चा सुरु भएको छ। नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि काठमाडौं साथै बाहिरका जिल्लाहरुमा पनि राजनीतिक ज्वरोले छोएको अवस्था छ भने नेपाली कांग्रेसले आफ्नो अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्था छ।

पछिल्लो राजनितिक परिवर्तनपश्चात संघीय संरचना पार्टीको संरचना निर्माण गर्ने हेतुले र पार्टीको स्थानीय तहका वडा समितिहरूमा कतै अधिवेशन सम्पन्न भैरहेको छ भने कतै अझै चलिरहेकै अवस्था रहेको । साथै प्रदेश, जिल्ला तथा क्षेत्रहरूमा पनि केन्द्रको तालिका बमोजिम ब्यापक तयारी भएको देखिन्छ।

त्यस्तै गरी नेपाली कांग्रेस पार्टीका प्रवासमा रहेका जनसम्पर्क समितिहरूमा पनि अधिवेशनको तयारी हुँदैछ । युरोप छेत्रको सम्बन्धमा पार्टीले युरोपका जनसम्पर्क समितिहरूको अधिवेशन गराउने जिम्मा भने जर्मन निवासी दिल गुरुङलाई दिएको छ।

नेपाली कांग्रेसको भातृसंगठन (प्रवास) अन्तर्गत युरोपका करिव १६ वटा देशहरूमा जनसम्पर्क समिति क्रियाशील भइ संगठनका गतिविधिहरू संचालन गरिरहेका छन् । जनसम्पर्क समिति पोर्चुगलले पछिल्ला समयमा जस्तै यसपाली पनि ७ जना प्रतिनिधिहरूले भाग लिन पाउने गरी क्रियाशील सदस्यता बनाइ केन्द्रमा पठाइसकेको छ भने पार्टी केन्द्रीय कार्यालयबाट जसस पोर्तुगलले पठाएको विवरण लाइ मान्यता दिएर अधिवेशनको तयारी गर्न पत्रचार गरिसकेको बुझिएको छ ।

नेपाली कांग्रेसले पछिल्लो संशोधित विधानअनुरुप प्रवासमा रहेर विदेशी नागरिकता लिनेहरूका हकमा भने नेपाली कांग्रेस पार्टीको विधानले जनसम्पर्क समितिको सभापति, केन्द्रीय नेतृत्व र पदाधिकारी चयन गर्ने हुँदा मतदान प्रकियामा विधानसम्मत ढंगबाट सहभागी हुन नपाउने ब्यवस्था गरेको हुँदा यसपाली धेरैजसो देशहरूमा क्रियाशील सदस्य बनाउन समेत गाह्रो भएको देखिन्छ।

पोर्चुगलमा हकमा हुँदै गरेको छैटौँ अधिवेशनमा नेतृत्वका लागि भने विगतका वर्षहरुमा भन्दा बढी उम्मेदवार हुने सम्भावना देखिएको छ । संगठन हाँक्छु भनेर यसपटक चुनावी मैदानमै उत्रन आवश्यक परेको खण्डमा उत्रिनका लागि जयभद्र सापकोटा युवराज पन्थी, वकील केसी, चिजकुमार तामाङ रहेका छन् भने सहमतिको प्रयास पनि भएको बुझिएको छ । यद्यपि सहमति हुन नसकेर निर्वाचन हुने भएको खण्डमा जयभद्र सापकोटा र युवराज पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जनसम्पर्क समितिमा आवद्ध व्यक्तिहरुलाई नवीन आचार्यले आफू पनि बलियो उमेद्वार रहेको बताउँदै आएको जसस निकट श्रोतले घटना र बिचारलाई बतायो । तथापि सबै नेतृत्वका आकांक्षीहरु सहमति गरेर नै अगाडि बढ्ने मनोभावनामा रहेको बुझिएको छ।

फेरि पोर्चुगल देश आफैमा शान्त शालिन, बैदेशिक रोजगारीमा सहज र स्थायी बसोबास अनुमतिपत्र प्राप्तिका लागि युरोप क्षेत्रमा निकै महत्वपुर्ण मानिन्छ । एकिन डाटा नभए पनि यहाँ झन्डै ३० हजार नेपालीहरू बसोबास रहेको भनिएको पोर्चुगलमा विभिन्न हिसाबले जातिय, क्षेत्रीय, राजनीतिक दलका भातृ र सेवामुलक गरी थुप्रै संघसस्थाहरू क्रियाशील छन्, जसमध्ये जनसम्पर्क समिति पहिलो र ठुलो संगठनका रूपमा अस्तित्वमा छ। यसको स्थापनाकालदेखि हालसम्म आइपुग्दा यस संगठनमा काम गरेका पुराना व्यक्तित्वहरुले अभिभावकीय भूमिका निर्वाह गर्दै आएकोले पनि यसको अस्तित्व र गरिमाको सबैले प्रशंसा गरेको देखिन्छ।

संगठनको हिसाबले यो राजनीतिक पार्टीको भातृ संस्था भएता पनि यसले मानवीय सेवाको क्षेत्रमा नेपालमा पार्टी केन्द्रीय समितिको समन्वय र सहकार्यमा विभिन्न परिस्थितिमा ठुलो सहयोग गर्दै आइरहेको छ। यसपटक जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन सम्भवतः युरोपमा पहिले हुँदैछ, एक सक्रिय सदस्यका अनुसार नेतृत्व र प्रतिनिधि छनौट प्रक्रियालाई सकेसम्म सहज र सक्षम अनि निर्विवाद रूपमा सर्वसम्मत बनाइ युरोपभरि सकरात्मक र मेलमिलापको सन्देश दिन यहाँका संस्थापक नेता हरु लागिपरेका छन् ।

जससलाई चुस्त दुरुस्त अनि प्रकियागत ढंगबाट अझ बलियो, सशक्त र संगठित बनाउन यसको विधिविधान तथा नियमसंगत पद्वतिलाई ब्यवहारमा लागु गर्न गराउन साथै केन्द्रिय निर्देशन स्वीकार गर्दै समयभित्र अधिवेशन गराउने दायित्व जससको वर्तमान नेतृत्व विनोद घिमिरेसंग रहेको बताइन्छ ।