बर्लिन म्याराथनमा महर्जन दौडने

बर्लिन म्याराथनमा महर्जन दौडने



विश्वप्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन् । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रष्टले संयुक्त कार्यक्रम आयोजनामा महर्जनब बर्लिन जान लागेका हुन् ।

महर्जनलाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धिवीर लामा, ट्रष्टका अध्यक्ष मनीषराज जोशीलगायतले बिदाइ गरे ।

महर्जनले यही सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छन् । महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेरसमूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ ।

महर्जनको यो समग्रमा नवौँ अन्तर्राष्ट्रिय सहभागिता हो । यसअघि उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन् । जापानमा भएको १८ औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कांस्य जितेका थिए । जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि हो । महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन् ।

महर्जनले बर्लिन म्याराथनमा २ घण्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको बताउदै सहभागिताका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिए । उनका अनुसार कीर्तिपुर नगरपालिकाले ५० हजार, कीर्तिपुर खेलकुद समाजले २१ हजारसहित व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भएको जानकारी दिए ।

बिदाइ कार्यक्रममा पूर्व अध्यक्ष थापाले २५ हजार तथा ट्रष्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग उपलब्ध गराए । बैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको थियो । ट्रष्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए ।