नेपाल र अष्ट्रियाका पर्वतीय क्षेत्रमा पदयात्राको अनुभव

नेपाल र अष्ट्रियाका पर्वतीय क्षेत्रमा पदयात्राको अनुभव


माओवादी आतंक र २०७२ सालको महाभूकम्पको समयमा आन्तरिक पर्यटकहरूले नै धेरै हदसम्म यो व्यवसायलाई संकटबाट जोगाइएदिएका थिए, तर व्यवसायीहरू भने आफ्ना नागरिकहरूप्रति निकै बैगुनी साबित भएका छन् । नेपालमा दिनभर हिँडेर साँझ गन्तब्यमा पुग्दा लजवालाले कोठा छैन भनिदिन्छ । बास पाउन कुनै प्रभावशाली गाइडको माध्यमबाट ‘सोर्सफोर्स’ लगाउनुपर्छ । नेपाली पदयात्रीलाई झन् गाह्रो छ । कोठा भाडा र खानाको मोल उति नै दिने हो तर लज मालिकले ‘नेपालीलाई कोठा नदिनु’ भनेर आफ्ना कर्मचारीलाई निर्देशन दिएको हुन्छ ।
  • डा. श्याम उपाध्याय

शरदको आरम्भसँगै नेपालमा अब पर्यटन ऋतु सुरु हुँदैछ । वर्षायामको अन्त्यपछि आकाश खुल्दै जान्छ । सुक्खा मौसम र साँझ बिहान बढ्दै जाने चिसोले गर्दा पहाडी भेकमा गृष्म र वर्षाकालका जुका र लामखुट्टे पनि हराउँछन् । खहरे खोलाका भेलहरू सुक्छन्, रोगब्याध हट्छ र पदयात्राका सबै प्राकृतिक आधारहरू पर्यटकहरूको स्वागतको लागि तम्तयार हुन्छन् ।

कोरोना महामारीपूर्व अन्नपूर्णा, मनास्लु, लाङ्टाङ र सगरमाथा क्षेत्रका पहाड र बस्तीहरूबाट मनमोहक हिमशिखरहरूको साथसाथै पदयात्रीहरूको ताँती लागेको पनि देखिन्थ्यो, तर गत दुई वर्षदेखि अवस्था भिन्न छ । अन्तर्राष्ट्रिय यात्राका अनेकन व्यवधान छन् । कोरोना संक्रमणको संत्रास त छँदैछ, त्यसमाथि कहिले प्रस्थान बिन्दु त कहिले गन्तब्यमा लादिएका अनेकन रोकले पर्यटकहरू हैरान छन् । आफू अष्ट्रियाको राजधानी भिएनाको बासिन्दा भए पनि हरेक वर्ष म नेपालका उच्च पर्वतीय क्षेत्रमा पदयात्रामा जान्थे र आफ्नो घरबिदा उतै बिताउँथे । तर लगातार दोस्रो वर्ष म नेपालमा पदयात्रा गर्न नसक्ने भएको छु । नेपालमा गर्ने पदयात्राको समय पनि अष्ट्रियामा नै बिताउनु परेको छ । महामारीका वावजुद पनि यहाँ पर्यटन व्यवसाय खास गरी पदयात्राको संचालन यथावत रहेको छ । यद्यपि युरोपेली संघभन्दा बाहिरबाट आउने पर्यटकहरूको संख्या अष्ट्रियामा पनि उल्लेखनीय मात्रामा घटेको छ ।

अष्ट्रिया आल्पस पर्वतीय क्षेत्रको मध्यभागमा पर्ने नेपाल जस्तै एक भूपरिवेष्टित पहाडी मुलुक हो । क्षेत्रफल र जनसंख्या दुबै हिसाबले यो नेपालभन्दा निकै सानो छ । यसको कुल भूभागको ६३ प्रतिशत उच्च पर्वतीय क्षेत्रमा पर्दछ भने २२ प्रतिशत भागमा बोहेमियन पठार र होचा पहाडी शृङ्खला छन् । अष्ट्रियाको समतल भूमी जम्मा १५ प्रतिशत अर्थात नेपालको भन्दा कम छ र यो डेन्युब बेसी र भियना वरपरको क्षेत्रमा फैलिएको छ । पहाडी मुलुक भएकाले यहाँ पनि नेपालमा जस्तै थुप्रै हिमशिखर, हिमताल, उच्च-पर्वतीय सुन्दर ताल-तलैया, नदी तथा झरनाहरू छन् । यहाँको प्राकृतिक सुन्दरता, मनोरम दृश्य र पर्वतीय संरचनाले गर्दा अष्ट्रिया पदयात्राको लागि युरोपकै प्रमुख आकर्षण बनेको छ । सांस्कृतिक सम्पदामा पनि अष्ट्रिया नेपाल जस्तै धनी मुलुक हो । विश्वसम्पदा सूचीमा अष्ट्रियाका नौ स्थलहरू परेका छन् जसमध्ये दुई स्थल राजधानी भियनामा छन् । यसबाहेक भिएना विश्व सास्त्रीय संगीतको केन्द्र मानिन्छ । विश्वविख्यात संगीतकार ओल्फगाङ मोजार्ट, जोहनस स्ट्राउस, फ्रान्ज शुबेर्ट लगायत अन्य कैयनको जन्म अष्ट्रियामा भएको थियो भने अर्का प्रख्यात संगीतकार लुड्विग भान बेटहोवेनको जन्म जर्मनीमा भए पनि सिर्जनशील जीवनका अधिकांस वर्षहरू उनले भियनामा नै बिताएका थिए । अष्ट्रियाको यस्तो भौगोलिक तथा सांस्कृतिक पहिचान पर्यटकहरूको प्रमुख आगमनको कारण बनेको छ । भिएनामा संयुक्त राष्ट्रसंघ, तेल उत्पादक राष्ट्रहरूको संस्था ओपेक लगायत कैयन अन्तरराष्ट्रिय संस्थाहरूको मुख्यालय पनि छ । यस आलेखको मुख्य विषय पदयात्रा नै भएकाले ती कुरामा यहाँ थप चर्चा गरिएको छैन ।


दुधपोखरी र गोक्यो गाउँको सूर्योदयअघिको दृश्य

पदयात्रा बाहिर खुला वातावरणमा संचालन हुने गतिविधि भएकोले महामारीकै अवस्थामा पनि संक्रमणको जोखिम न्युन गर्ने केही सामान्य उपाय अपनाएर व्यवसाय यथावत राख्न सकिन्छ । कोरोना संक्रमणबाट पर्यटकहरूलाई सुरक्षित राख्न अष्ट्रियाले संक्रमण निरोधक नीति (जर्मन भाषामा ३–जीको नीति) कडाइका साथ लागु गरेको छ । यस अन्तर्गत पर्यटकले होटेल, लज या रेष्टुराँमा प्रवेश पाउन आफूले खोपको दुबै मात्रा लगाएको या कोरोना टेष्ट नकारात्मक रहेको या कोरोना लागेर निको भएको भन्ने प्रमाण पेश गर्नु पर्दछ । ग्राहक र व्यवसायीले लेनदेन गर्दा शारिरिक स्पर्शबाट हुनसक्ने संक्रमणको जोखिम कम गर्न अधिकतम मात्रामा कार्ड मेशिनको प्रयोग गरिन्छ । होटेल व्यवसायीहरूलाई सम्भव भएसम्म खाना बाहिर खुल्ला ठाउँमा ख्वाउने प्रबन्ध गर्न निर्देशन दिइएको छ । बन्द कोठा या हलमा भए आफ्नो टेबलबाट उठ्नासाथ अनिवार्य मास्क लगाउनु पर्ने नियम छ । सेवामा खटिएका कर्मचारीहरू भने जुनसुकै स्थलमा पनि अनिवार्य रुपमा मास्कमा हुन्छन् । त्यस्तै लिफ्ट र केबलकारका क्याबिन जस्ता साँधुरा साधनमा एक पटकमा एउटै परिवारका सदस्यलाई मात्र प्रवेश दिइन्छ । पसलहरूमा पनि पसलको आकार अनुसार ग्राहकहरूको संख्या नियन्त्रण गरिन्छ । यस्ता उपायहरूको अवलम्बनले संक्रमणको जोखिम निकै कम गर्ने कुरा त छँदैछ पर्यटकहरू पनि आफू सुरक्षित भएको महसुस गर्छन् । उपभोक्ताको विश्वास नै कुनै पनि व्यवसायको सफलताको द्योतक हो ।

महामारीले गर्दा नेपालको पर्यटन उद्योग अहिले संकटग्रस्त अवस्थामा छ । माओवादी आतंकका वर्षपछि सन २०२० मा पर्यटन आगमनमा सबैभन्दा ठूलो गिरावट आयो । तर नेपालमा विदेशी पर्यटक पुन आउनको लागि उनीहरूले संक्रमणबाट सुरक्षित महसुस गर्ने वातावरण बनिसकेको छैन । नेपाल अवतरण गरेदेखि नै ठेलमठेल र भीडभाडको सामना गर्नु पर्दछ । विमानस्थलको आगमन कक्षमा यात्रुहरू लाममा उभिंदा भौतिक दुरी कायम गर्न सकुन् भनेर भूईंमा धर्को लगाइएको छ । तर त्यस अनुसार दुरी राखेर लाममा उभिंदा पछाडिको मानिसले उछिनेर अगाडि गएर उभिन्छ । सहर गएपछि सार्वजनिक यातायात, होटेल तथा रेष्टुराँहरूमा सुरक्षाका उपायहरू अवलम्बन गरेको देखिंदैन । सरकारले पनि ’लाटो बुद्धि’ले मात्र काम गरिरहेको छ । कहिले निषेधाज्ञा लगाएर पूरै बन्द गरिदिन्छ, कहिले सबैकुरा छाडा छोडिदिन्छ । तर महामारीको अवस्थामा व्यवसाय यथावत राख्न केही बुद्धिमतापूर्ण ढंगले बनाइएका सुरक्षा कार्यक्रम लागु गर्नु पर्दछ । यस्तो कार्यक्रमको उद्येश्य जसबाट संक्रमण फैलने खतरा छैन त्यस्ता मानिसलाई पर्यटन सेवाको दायराभित्र समावेश गर्दै लाने हुनुपर्छ । पर्यटकहरूले प्रयोग गर्ने सार्वजनिक सेवा जस्तो विमानस्थल, बार तथा रेष्टुराँ, संग्रहालय आदिमा कोरोना संक्रमणसँग सम्बद्ध जाँच तथा नियन्त्रण, मास्क र भौतिक दुरीका प्रावधानहरू कडाइका साथ लागु गर्नु पर्दछ ।

सार्कक्षेत्र भन्दा बाहिरबाट नेपाल आउने पर्यटकहरूको मुख्य उद्येश्य पदयात्रा भएको तथ्य सर्वविदितै छ । महामारीपूर्व पदयात्राको लागि नेपाल आएकामध्ये दुइतिहाई पर्यटक सार्कक्षेत्र बाहिरका थिए । पदयात्रासँग सम्बद्ध व्यवसायले नेपालका सुगमदेखि दुर्गम भेकसम्मका लाखौं नेपालीलाई रोजगारी दिइरहेको छ । व्यवसाय सुक्दा त्यहाँ कामगर्ने मात्र होइन तिनका परिवारका सदस्यहरूको जीवनयापन पनि प्रभावित हुन्छ । तर पदयात्राप्रति नेपाल सरकार र पर्यटन व्यवसायीहरूको दृष्टिकोण अत्यन्तै उदासलाग्दो छ । सर्वप्रथम कतिपय पर्यटन क्षेत्रमा पहिलाका आकर्षक पदयात्रा मार्गहरू मासेर सोही ठाउँमा मोटर बाटो बनाइएको छ । पहाडी वनस्पतिको छहारीमा खोलाको हावा खाँदै पदयात्रा गर्न आएका पर्यटकहरू अब हरेक मिनेट बजाइएका चर्का हर्न र धुलो सहेर तातो आश्फाल्टमा हिंड्न बाध्य छन् । एकपटक जोमसोमबाट फर्कदा कालीगण्डकीको गहिरो खोंच हेर्दै हिंडेका पर्यटकलाई तर्साउने नियतले चालकले नजिकैबाट पेलेर गाडी लगेको र त्यसैको खलाँसीले “हान्दे खैरेलाई“ भन्दै कराएको सुन्दा मलाई हाम्रो देश र समाजले विदेशी पाहुनाहरूप्रति गरेको व्यवहार देखेर आत्मग्लानी भयो । स्थानीय माग अनुसार बाटो बनाउनु आवश्यक होला तर पदयात्राका प्रचलित मार्ग नै मास्नु गैह्रजिम्मेवारी पन हो ।

पदयात्रामा आउने अधिकांस पर्यटक युवा हुन्छन् । तिनीहरू सबैसँग निजी गाइड र भरिया लिएर हिड्ने पैसा हुँदैन । उनीहरू आफ्नो सामान आफै बोकेका हुन्छन् । केही वर्ष अघिसम्म म पनि भरिया या गाइडबिना नै पदयात्रा गर्थे र त्यसैबेला पदयात्राका कतिपय समस्या आफैले ब्यहोरें । पदयात्रा मार्गमा विदेशी यात्रुहरूको लागि आवश्यक सूचनाको ठूलो अभाव छ । कतिपय बाटो छुट्टिएको ठाउँमा कुनै चिन्ह राखिएको हुँदैन । पदयात्रीहरू बाटो बिराएर हैरान भएका कैयन घटना छन् । अष्ट्रिया बिरानो मुलुक भएर पनि यहाँ पदयात्रा गर्दा मलाई गाइडको आवश्यकता कहिल्यै महसुस भएन । यहाँ हरेक पदयात्रा मार्गको रुट नम्बर हुन्छ जुन बाटोभरि नै कतै रुखमा कतै सानो बोर्डमा सबैले देख्ने गरी कोरेको हुन्छ । पदयात्राको प्रस्थान बिन्दुमा नै रुटको विवरण गन्तब्यसम्मको बाटोमा पर्ने लज तथा अतिथिगृहहरूको (या प्रोप्राइटरको) नाम, टेलिफोन नम्बर त्यहाँ पुग्न लाग्ने अनुमानित समयबारे सूचनाहरू उपलब्ध हुन्छ । नेपालमा दिनभर हिंडेर साँझ गन्तब्यमा पुग्दा लजवालाले कोठा छैन भनिदिन्छ । बास पाउन कुनै प्रभावशाली गाइडको माध्यमबाट ‘सोर्सफोर्स’ लगाउनुपर्छ । नेपाली पदयात्रीलाई झन् गाह्रो छ । कोठा भाडा र खानाको मोल उति नै दिने हो तर लज मालिकले ‘नेपालीलाई कोठा नदिनु’ भनेर आफ्ना कर्मचारीलाई निर्देशन दिएको हुन्छ । माओवादी आतंक र २०७२ सालको महाभूकम्पको समयमा आन्तरिक पर्यटकहरूले नै धेरै हदसम्म यो व्यवसायलाई संकटबाट जोगाइएदिएका थिए, तर व्यवसायीहरू भने आफ्ना नागरिकहरूप्रति निकै बैगुनी साबित भएका छन् । अष्ट्रियामा कसैले पनि यस्तो भेदभाव सहनु पर्दैन ।


लेखक अष्ट्रियाको टिरोल राज्यको प्लाउनेर पहाडी इलाकाको पदयात्रामा

पर्यटन सेवाको स्तर निम्न भए पनि विदेशीहरू नेपाल आउनुको मुख्य कारण यहाँको असाधारण भौगोलिक बनोट र अनुपम सुन्दरता हो । अष्ट्रियाको सबैभन्दा अग्लो पर्वत माउण्ट ग्रोसग्लोक्नेरको उँचाई ३७९८ मिटर अर्थात मुक्तिनाथ जति छ । खुम्बु क्षेत्रको पदयात्रा गर्दा मैले आफैले कहिल्यै नाम नसुनेका अग्लाअग्ला हिम शिखर देखेको थिएँ । पाँचहजार मिटरभन्दा होंचा पर्वतहरूको नाम त कतिपय स्थानीयवासीलाई पनि थाहा हुँदोरहेनछ । सगरमाथा आधार शिविरमा जाने बाटोमा पर्ने दिङबोचेमा भेटेको एक फ्रान्सिसी नागरिकले उक्त गाउँ मोन्ट ब्लान्क (आल्पस शृङ्खलाको सर्बोच्च शिखर जुन फ्रान्समा पर्दछ) कै उँचाइमा रहेछ भन्ने थाहा पाएपछि नेपाल आएर आफ्नो देशको सबैभन्दा उच्च स्थानभन्दा माथि पुगें भनेर मसँग खुसी ब्यक्त गरेको थियो । कैयन देशका मानिसहरूको जीवनमा एकपटक भए पनि हिमाली क्षेत्रमा पदयात्रा गर्ने सपना हुन्छ । के पनि सत्य हो भने हाम्रो हिमालका सबै शिखरको आरोहण भएको छैन र सबै हिमतालसम्म मानव जातिका पैताला पुगिसकेका छैनन् । नेपालमा पदयात्राको दायरा र त्यसबाट देशले उठाउन सक्ने लाभ अपरम्पार छ ।

विद्यालयदेखि नै हामीलाई नेपालको भौगोलिक बनोट र खासगरी भूपरिवेष्टित अवस्था आर्थिक विकासको लागि ठूलो व्यवधानको रुपमा चित्रण गरेर पढाइन्छ, मानौं हिमाल हाम्रो दुर्भाग्य हो । तर यस्तो विचार सर्वथा अनुचित हो र अझै पनि पाठ्यपुस्तकहरूमा त्यस्तो लेखिएको भए हटाउनु पर्दछ । अष्ट्रियाले आफ्नो भूपरिवेष्टित र पहाडी भौगोलिक अवस्थालाई विकास र समृध्दिको लागि सफलतापूर्वक प्रयोग गरेको छ । उसका उत्कृष्ट सडक र रेलमार्गले युरोपेली संघका दुई प्रमुख अर्थतन्त्र जर्मनी र इटलीलाई जोडेको छ । उनीहरूलाई पु¥याएको पारबहन सेवाबाट अष्ट्रियाले ठूलो फाइदा लिएको छ । सुक्खा मौसममा पदयात्राको लागि आएका पर्यटकहरूले भरिभराउ पहाड र थुम्काहरू जाडोमा हिउँले ढाकेर सेताम्य हुन्छन् र स्की खेल्न त्यतिकै संख्यामा पुन पर्यटक आउँछन् । पर्यटनले गर्दा यहाँका यातायात तथा संचार, होटेल तथा रेष्टुराँ जस्ता सेवा प्रदायक व्यवसायको मात्रै होइन, उत्पादन मुलक उद्योगको पनि विकास भएको छ । अष्ट्रिया विश्वकै प्रमुख केबलकार उत्पादक तथा निर्यातक राष्ट्र हो । नेपाल आएका केबलकार पनि अष्ट्रियामा नै बनेका हुन् । अष्ट्रियाका पहाडहरूमा केबलकार छ्यापछ्याप्ति भेटिन्छन् । फलस्वरुप वृध्द, बालक र अपांगहरू पनि उच्च शिखरमा गएर मनोरम दृश्यको आनन्द लिन्छन् । कतिपय केबलकार सेवा बार्है महिना हिउँले ढाकेका चुचुरासम्म पु¥याइएको छ । त्यस्ता शिखरमा पुगेर हिउँ हेर्ने उद्येश्यले मात्र पनि कहिल्यै हिउँ नपर्ने अरब मुलुकका पर्यटकहरू हजारौंको संख्यामा अष्ट्रिया आउँछन् । यसरी देशको पहाडी भौगोलिक बनोटलाई सम्पूर्ण जनताको जीवनयापनको स्रोत, साधन र चरित्र बनाइएको छ ।

नेपालले पर्यटन प्रवर्द्धनको लागि भ्रमण वर्ष मनाउने कुरामा निकै जोड दिने गरेको छ । तर पर्यटकको संख्या मात्रै बढाएर देशलाई कुनै फाइदा हुँदैन । कुनै पनि देशले पर्यटनबाट प्राप्त गर्ने आम्दानी भनेको पर्यटकहरूले त्यो देशमा आएर गर्ने खर्च हो । यो खर्च पर्यटकहरूको सरदर दैनिक खर्च र नेपालमा बस्ने अवधिमा भर पर्छ । सामान्य हिसाबबाट पनि प्रतिदिन १०० डलर खर्च गर्ने ५० जना पर्यटक सात दिनको लागि आउँदा र दैनिक ५० डलर मात्र खर्च गर्ने १०० जना त्यतिकै अवधिको लागि आउँदा देशले पाउने आम्दानीमा केही फरक पर्दैन । तर पर्यटकको संख्या मात्रै बढाउँदा उनीहरूलाई दिनुपर्ने सेवाको लागि देशले चुकाउनु पर्ने मूल्य र पर्यटनबाट वातावरणमा पर्ने नकारात्मक असर बढेर देशलाई झन घाटा हुन्छ । पर्यटनको नेपाल बसाइ बढाउने र खर्च हुने कुरामा ध्यान दिनुपर्छ । विदेश जाँदा जसको पनि मुख्य खर्च हवाई टिकटमा हुन्छ । हामीले आफ्नो विमान सेवा ध्वस्त गरिसक्यौं । पर्यटकको संख्या बढाउनु भनेको नेपालको पर्यावरण मासेर विदेशी विमान सेवालाई पोस्नु भएको छ । विगतमा नेपाल आएर पर्यटकहरूले किन्ने पश्मिना, ढाका, हस्तकला जस्ता स्थानीय बस्तुहरूको पनि आयातित नक्कली सामानहरूले विस्थापन गरिसकेका छन् । कोरोना महामारीले पर्यटकहरू घटेर प्राप्त यो फूर्सदको समय व्यवसायीहरू र सम्बन्धित सरकारी निकायले महामारीपछि पर्यटन सेवामा कसरी नवजीवन संचार गर्न सकिन्छ र हाम्रो देशको अनुपम प्राकृतिक सुन्दरता र ऐतिहासिक सम्पदालाई अन्य मुलुकले जस्तै देशवासीको सुख समृद्धिको लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे चिन्तन मनन गरेर नयाँ नीति तथा कार्यक्रम सहित प्रस्तुत भए पर्यटन व्यवसायमा भएको घाटाको छिट्टै पूर्ति हुनसक्ने थियो ।