नक्कली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नोटसहित दुई भारतीय पक्राउ



महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं. १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु. १००० हजारका २२ थान, रु. ५०० का तीन थान, रु. १०० का २७ थान, रु. ५० का छ थान, रु.२० का आठ थान, रु. १० का ११ थान, रु. ५ का ६ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।