सङ्खुवासभा हत्या काण्डमा लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

सङ्खुवासभा हत्या काण्डमा लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए



सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।

एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिएका छन् । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ भने नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रवक्ता प्रहरी उपरीक्षक राईका अनुसार मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको छ । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एस्पी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको जनाइएको छ ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जनामाथिसमेत प्रहरीले अनुसन्धान थालेको हो ।

ज्ञात रहोस्, सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।

file photo