विवेकशून्य शासक र राजनीतिक दुर्घटना

विवेकशून्य शासक र राजनीतिक दुर्घटना


सिंहदरबारको कथित नीतिले मुलुकवासी प्रताडित हुँदैछन् । मतपत्रबाट जन्मिएका विवेकशून्य शासक संवेदनहीनताको पोखरीमा स्नान गरिरहेको छ । सुशासन भनेको कर, जरिवाना, प्रशासनिक ज्यादती, सत्ताको निरङ्कुशता हो भन्ने मान्यता स्थापित गर्ने कोसिस गरिएको छ।पपुलिस्टहरुको शासनमा बाँच्नको निम्ति आत्मदाह गर्नुपर्ने अवस्था आएको छ । सर्लाहीका ३५ वर्षीय विवेक मण्डल, ४५ वर्षीय अश्विन मण्डलले आत्मदाह गरेको घटनालाई पपुलिस्ट सत्ताले ३५ वर्षे षडयन्त्र देख्दैछ । जरिवानाको कारणले मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर देहत्याग गरेको घट्नामा `खरानी ग्याङ` बाहेक मुलुक रोएको छ । 

राजनीतिक ज्ञान, व्यवहारिकता, सभ्यता, संस्कृति, इतिहास `मानवीय संवेदना र विवेक`लाई अनुपयुक्त मान्ने र ठान्ने पपुलिस्टहरु मुलुकमा करोडपति र भ्रष्टाचारी बाहेक कोही बस्दैनन् भन्ने बुझाइमा रहेको देखिन्छ । फ्रेन्च क्रान्तिको दौरान सडकमा ओर्लिएका मानिस देख्दा रानीले आफ्नो सेवकसँग प्रश्न गरेकी थिइन्- यी मानिस किन सडकमा नारा लगाउँदै छन् ? सेवकले रानीलाई बिन्ती बिसाउँछन्- उनीहरू रोटीको निम्ति सडक ओर्लिएका हुन् । अनि रानीले नागरिकलाई भनेकी थिइन्- किन रोटी नै खानुपर्‍यो, ‘केक’ खाए भइहाल्यो ! शायद फ्रेन्च रानीको प्रभाव बसाइँ सरेर जलाइएको सिंहदरबार प्रवेश गरेको छ । एल्गोरिदम शासक सम्पूर्ण मुलुकवासीसँग सयौँ तोला सुन, दशौँ बिघा जमिन, करोडौ बैङ्क ब्यालेन्स र जति वर्षको मन्त्री छ, त्यति नै करोड सम्पत्ति भएजस्तै हरेक नागरिक करोडपति छन् भन्ने ठान्दछ ।

पपुलिस्टहरुको ‘सनकतन्त्र’मा मानवता र विवेकको मृत्यु भइसकेको छ । लाग्छ- गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीतलाई र्‍यापबाहेक केही होइन भन्ने बुझेका पपुलिस्टहरुले गरिबलाई बोल्न र बाँच्न नदिने कसम नै खाएका छन् । `गरिब` शब्द सुन्नासाथ एलर्जी हुने अवस्थामा रहेका ‘वैदेशिक खेताला’हरू कसको निम्ति नेपाली मार्दैछन्, गम्भीर शङ्का उत्पन्न भएको छ । खोलाकिनार खाली गरेर युद्ध जितेको सरकारले होल्डिङ सेन्टरमा बसेका गरिब सुकुम्बासीमाथि गरेको ज्यादती मुलुकको दुर्भाग्य बन्दैछ । नेकपा असफल हुँदा मुलुक मिसन खरानीसम्म पुर्‍याइएको बुझ्ने ल्याकत नभएका पपुलिस्टहरुको कारण मुलुक गम्भीर अराजकता तर्फ लम्किँदै छ ।

लाखौँ मानिस आधारभूत आवश्यकता पूरा गर्न जुधिरहेको छ । नागरिकको आम्दानी निरन्तर खस्कँदै गएको छ । सरकार नागरिकको विश्वास जित्न असफल भएको छ । गरिबको अधिकार र आवश्यकता बुझ्ने जाँगर सरकारसँग नभएको तथ्यहरूले पुष्टि गरिरहेको छ । `शिक्षा, स्वास्थ्य र रोजगारी` जस्ता विषय नागरिकको आफ्नै दायित्व हो भन्ने `खरानी  परिवर्तन`को बुझाइ छ । नि:शुल्क र पहुँचयोग्य सार्वजनिक सुविधालाई अनुपयुक्त विषय मान्दैछ । सनक र लहडमा रमाइरहेका पपुलिस्टहरु  राजनीतिक दुर्घटनाको वातावरण निर्माण गर्दैछन् ।

दिगो आर्थिक वृद्धि एक बहुवर्षीय, बहुआयामिक प्रक्रिया हो । यो वार्षिक बजेटबाट उत्पन्न हुँदैन । कुरो नचपाइकन भन्नुपर्दा मुलुकको आर्थिक लक्ष्य र व्यवस्थापन नेपालको चाहनामा निर्भर गर्दैन । मुलुकको योजनावद्ध अर्थतन्त्र विश्व बैङ्क, एडिबी र आइएमएफको प्रत्यक्ष नियन्त्रणबाट कहिल्यै मुक्त छैन । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको निम्ति गरिब उत्पादन गर्ने अर्थनीति र आर्थिक गतिविधि नियन्त्रण गरेको शक्तिले पछिल्लो समयमा शासक समेत आफैले चाहेजस्तो जन्माएको छ । तिनै शक्तिको इच्छा, चाहना र कार्यक्रम लागु गर्न एल्गोरिदम सरकार नाङ्गो बनेर आएको छ । रणनीतिक लक्ष्यको निम्ति उत्पादन गरिएको पात्रलाई जोगाउन एडिबी प्रमुख काठमाडौँ ओर्लिएको घटनालाई बुझ्न जरुरी छ ।

नायकको खोजीमा रहेको मुलुक `खरानी भाइरस`को फन्दामा परिसकेको छ । अलि अस्तिसम्म मानिसको जीवन भन्दा सिंहदरबार ठुलो हुँदैन भन्ने भाइरसहरू गणेश नेपालीको आत्मदाहपश्चात् मानिसको जीवनभन्दा नियम, कानुन, अनुशासन ठुलो हुन्छ भन्न थालेका छन् । प्रेमप्रसाद आचार्यको आत्मदाहलाई राज्यको असफलता देख्ने पात्र आफै प्रधानमन्त्री हुँदा गणेश नेपालीको आत्मदाहलाई राष्ट्रिय अपराध मान्दैछ । अझ रोचक कुरा आफ्नै सरकारको गृहमन्त्रीले घुमाउरो ढङ्गले स्थानीय सरकारलाई दोषी करार गर्ने बहानामा प्रधानमन्त्रीको `मेयर कार्यकाल` सम्झाएर कुटनीतिक भाषामा सम्पूर्ण दोषको भारी प्रधानमन्त्रीको थाप्लोमा हालेका छन् । कानुनले नचिनेका गिरोहको फुर्ति, समर्थकहरूको कथित चिन्तन र न्यायको निम्ति आवाज उठाउने शक्तिको तितरबितरले `फाँसीवाद`लाई स्वागत गर्नेछ ।

पपुलिस्टहरुको बुझाइअनुसार मानिस बुढो हुनु भनेको अयोग्य हुनु हो । युवा हुनु भनेको सम्पूर्ण रूपमा काबिल हुनु हो । सौभाग्यवश पपुलिस्टहरुको उमेर बढ्दैछ । आफ्नै कथित मान्यताअनुसार उनीहरू दिन-प्रतिदिन अयोग्य बन्दैछन् । पुरानोलाई अयोग्य देख्ने पपुलिष्टहरुको भ्रम भड्खालोमा परिसकेको छ । समाजमा ठुलो विध्वंसको मनोविज्ञान तयार हुँदैछ । जतिसुकै राम्रो लक्ष्य भएपनि बाटो खराब लिएमा नतिजा सकारात्मक नआउने प्रमाणित भइसकेको छ । टिओबीले ओली/देउवालाई सत्ताच्युत गर्न अहम् भूमिका निभाएको गुन तिर्न विवश विवेकशुन्य सत्ता `टिओबी`कै कारण गर्ल्यामगुर्लुम ढलेमा अनौठो हुनेछैन भन्ने गाइँगुइँ सुरु भएको छ ।

डिजिटल पुस्ताले भर्खरै महसुस गरेको छ- `मालिक बदलिँदैमा दासहरू स्वतन्त्र हुँदैनन् ।’ शिक्षा, सीप र स्वास्थ्यले मानिसलाई अर्थतन्त्रमा भाग लिन सक्षम बनाउँछ । प्रविधि र नवप्रवर्तनद्वारा मुलुक बनाउन नदिने शक्तिले गरिबीलाई जीवित राखेको छ । राजनीतिक स्थिरता कायम राख्न बलियो संस्थाहरू आवश्यक पर्दछ भन्ने बुझेको शक्तिले `खरानी भाइरस` राजनीतिमा छिराएको डिजिटल पुस्ताले नजरअन्दाज गरेको छ । वर्तमान संवैधानिक संरचनाअन्तर्गत, आर्थिक वृद्धिको इन्जिन चलाउन आवश्यक पर्ने शिक्षा, सीप विकास, कानुन र व्यवस्था, सम्झौता कार्यान्वयन, अनुकूल व्यावसायिक वातावरण समाप्त गर्ने तारतम्य बौद्धिक अर्थमन्त्रीमार्फत मिलाइएको छ ।

भ्रष्टाचार केवल आर्थिक मात्र हुँदैन । राजनीतिक, सामाजिक, नैतिक आचरण पनि भ्रष्टाचार हो भन्ने पपुलिस्टहरुले बुझ्न सक्दैनन् । झुट बोल्नु, मिडिया कब्जा गर्नु, खेतालामार्फत न्युरोड कब्जा गर्नु, नागरिकको इमोसनसँग खेल्नु पनि भ्रष्टाचार हो भन्ने डिजिटल पुस्ताले बुझ्न ढिला भइसकेको छ । ठोस संवाद, पारदर्शिता, र संस्थागत जबाफदेहितालाई लत्त्याउँदै मुलुक निर्माण गर्न निस्किएको विवेकशून्य शासक भ्रष्टाचारको परिभाषा बदल्न मरिहत्ते गर्दैछ । मेयर हुँदा सङ्घीय सरकार खराब, सिंहदरबार पुग्नासाथ स्थानीय सरकार खराब देख्ने विवेकशून्य पात्रहरू न्यायमाग्ने जेनजी युवामाथि लाठी बर्साउँदै छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र जन्मदिन मनाउन बिर्सेर दलाई लामाको जन्मोत्सव मनाउँदै छ।

टिओबी, एल्गोरिदम र सोसल मिडियाको रणनीतिक प्रयोग गर्दै सत्तामा पुर्‍याइएका पात्रहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका कब्जा गर्न सफल भए तर नागरिकलाई काम देखाउन सकेनन् । जब उनीहरूको ल्याकत, हैसियत र नियत परम्परागत मिडियाले उजागर गर्न थाल्यो,मलाई बोल्न दे सरकार भन्दै र्‍याप हान्ने `शासक` गणेश नेपालीहरू गलत छन् भन्ने प्रमाणित गर्न मरिहत्ते गर्दैछ । आफ्नो अयोग्यता लुकाउन ३५ वर्षलाई दोष दिने, विषयलाई छल्ने, मुलुकवासीको ध्यान मोड्न सडक र सञ्जाल कब्जा गर्ने, संसद्मा नौटङ्की गर्ने, विरोधीलाई धम्क्याउने, मिडियाको मुख थुन्न `पार्किङ आतङ्क` मच्चाउने कार्यशैलीपश्चात् प्रायोजित पात्र उत्पादन गर्ने कारखाना समेत रन्थनिएको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा पपुलिस्टहरु असफल भए मुलुक अराजकतामा फस्नेछ, सफल भए लोकतन्त्र समाप्त हुनेछ भन्ने बुझेको शक्तिले राजनीतिक दुर्घटनाको अन्तिम प्रयास गर्दैछ ।

मुलुकले अनेकौँ आन्दोलन सम्पन्न गरेको सजाय पाइरहेको छ । हरेक परिवर्तनपश्चात् सिंहदरबारले व्यक्ति बदलेर आनन्द उठाएको छ । दुर्भाग्यवश जलाइएको सिंहदरबारसमेत पुरानो कार्यशैली, नियत, प्रवृत्ति, क्षमता र संस्कार बदल्न राजी नभएको नागरिकले महसुस गरिरहेका छन् । न्याय, अवसर, समानता र राहतमार्फत नागरिकको विश्वास जित्नुको सट्टा पपुलिस्ट सत्ता आलोचना सुन्न नसक्ने अवस्थामा पुगेको छ । सत्तारुढ दलभित्र सुरुभएको ‘मतभेद र मनभेद’लाई सरोकार नराख्ने डिजिटल पुस्ता फास्टट्र्याकमा डेलिभरी खोज्दैछ । पपुलिस्ट सत्ताभित्र रहेको ज्ञानको रिक्तता, अन्तरपार्टी तिक्तता र अतृप्त लोभ छोप्न प्रोपोगाण्डा, छलकपट र धरपकडलाई हतियार बनाउँदै छ । स्ट्याटस`बाट उदाएको विवेकशून्य शासक नागरिकको पीडामा इन्जोय गर्दैछ । भदौरे विध्वंससम्म नेताले देश बिगार्‍यो भन्नेहरू जलाइएको सिंहदरबार पुगेको १०० दिन पुग्नासाथ जनताले देश बिगार्‍यो भन्न थालेका छन् ।

अन्तमा, गरिबको जीवनमा आसाको दियो बाल्न पपुलिस्टहरु सम्पूर्ण रुपमा असफल भएका छन् । काम सुरु गर्ने र अलपत्र छोड्ने अभियानपश्चात् सरकारले डिजिटल पुस्ताको विश्वास गुमाउँदै छ । विवेकशून्य शासनमा मौलाएको आर्थिक विनाश, अदूरदर्शी नीति, युवा पलायन, संस्थागत क्षयीकरण, सामाजिक विभाजन, आन्तरिक द्वन्द्व, कमजोर कूटनीतिले  पपुलिस्टहरुको ल्याकत र हैसियत छताछुल्ल भएको छ । नागरिकको अपेक्षा र आफ्नै गन्तव्य भूलेको सरकार संविधान र संसद्को हुर्मत लिन मरिहत्ते गर्दैछ । भूराजनीतिक टकरावलाई बेवास्ता गर्दै हाँकेको ‘दुई तिहाइको बोइङ’ आँधी-बेहरीभित्र फसिसकेको छ । प्रायोजित क्याप्टेनले संवैधानिक अङ्गहरू, प्रतिपक्ष, मिडिया र नागरिक समाजको रचनात्मक सहयोग लिँदै सुरक्षित अवतरण गर्न नसके मुलुक राजनीतिक दुर्घटना भोग्न विवश हुनेछ ।

www.pandeydipendra.com.np