जेष्ठनागरिकलाई पाँचताराको बेग्लै सम्मान

जेष्ठनागरिकलाई पाँचताराको बेग्लै सम्मान



वित्तीय सहकारी क्षेत्रमा विशेष ख्याति कमाएको पेप्सीकोला (काठमाडौं)स्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्षमाथिका संस्थाका सदस्यहरूलाई जनही दुई हजार रुपैयाँका दरले चाडपर्व खर्च प्रदान गरेको छ । संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभाको अवसर पारेर यो वर्ष ८ जना जेष्ठ नागरिक सदस्यलाई चाडबाड खर्च दिएको र यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ । पाँचताराले संस्थाले विद्युतीय माध्यमबाट साधारणसभा गरेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष भोलानाथ पाठकले स्थानीय स्तरमा रक्तदान, सरसफाई, सामाजिक क्रियाकलाप, खेलकुद, मठमन्दिरको जगेर्ना जस्ता विविध क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आएको बताए । अध्यक्ष पाठकले साधारण सभामा आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

सानो रकमबाट संस्थाको मालिक बन्ने अवसर सहकारीमा मात्र प्राप्त हुने र सहकारीले कुनै वर्ग, जाति, धर्मका आधारमा विभेद नगरी समान व्यवहार गर्ने हुँदा मुलुकमा सबैका लागि सहकारी नै उत्तम विकल्प भएको उनको दाबी थियो । सदस्यहरूलाई उत्पादनमा जोडिन आग्रह गर्दै उनले भने– ‘संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ । महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशतकै हाराहारीमा ऋण दिन्छ । यसको उपयोग गर्न म महिला सदस्यहरूलाई आग्रह गर्छु ।’

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष ०७७/७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाखपुगेको जानकारी सदस्यलाई दिए । संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी उनले दिए ।

त्यस्तै, संस्थाले सदस्यहरूबाट संस्थागत विकास कोष वापत लिएको रकममध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको संस्थाकी ब्यवस्थापक राधा कडरियाले जानकारी दिइन् भने संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेश गर्दै जोखिम विश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमा हुने गरी कार्यान्वय गर्दै जान सुझाव दिए ।

सभा समापन समारोहमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको मन्तव्य राखे । सदस्यले सम्पूर्ण कारोबार एउटै संस्थामा गर्नुपर्छ र संस्थाले पनि सदस्यको आर्थिक तथा सामाजिक आवश्यकतालाई जसरी भए पनि पूरा गर्ने प्रयास गर्नुपर्छ भन्ने उनको धारणा थियो ।

त्यसैगरी कार्यक्रमका कास्कूनका अध्यक्ष दीपक पनेरुले पछिल्लो समयमा विशेषतः बचत ऋण सहकारीमा समस्या बढेको मन्तव्य राखे सहकारीको मुल्य मान्यता र सिद्धान्तअनुरुप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने काम र व्यवहार भने फरक गर्ने संस्थाहरूका कारण सहकारीको छवि धुमिलिएको जिकिर गरे ।

संस्थाका उपाध्यक्ष विजय मल्लको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सञ्चालन सचिव लोचनहरि प्रसाईंले गरेका थिए ।