राष्ट्रिय ब्याडमिन्टनको उपाधि रत्नजित र रशिलालाई

राष्ट्रिय ब्याडमिन्टनको उपाधि रत्नजित र रशिलालाई


शीर्ष वरियताप्राप्त त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका रत्नजितले विश्व जुनियर वरीयताका तेस्रो स्थानमा रहेका आयोजक रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

रत्नजितले प्रिन्सलाई २०–२२, २१–१९ र २१–१३ पराजित गर्दै ५० हजार हात पारे । दोस्रो भएका प्रिन्सले २५ हजार रुपैयाँ तथा तेस्रो भएको प्रफुल महर्जन र साजन कृष्ण ताम्राकारले समान १०–१० हजार हात पारे ।

महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अनुमाया राईलाई २१–८, १७–२१ र २२–२० को जित निकालिन् । उपाधिसँगै रशिलाले ५० हजार हात पारिन । दोस्रो भएकी अनुले २५ हजार तथा तेस्रो भएको जेसिका गुरुङ र अमिता गिरीले समान १०–१० हजार हात पारे ।


शीर्ष २० देखि बाहेकका पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई २१–१६, १७–२१ र २१–१८ ले पराजित गर्दै उपाधि जित्न सफल भए ।

उपाधिसँगै बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा र विधान अधिकारी र विशाल खड्काको जोडीले समान १०–१० हजार हात पारे ।

भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाखे र चितवनका सुभास श्रेष्ठको जोडीले रिभाइज लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९–२१, २१–१४ र २१–१९ ले पराजित गर्दै च्याम्पियन बने । उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार हात पारे ।

दोस्रो स्थान प्राप्त गरेका रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी र किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान ५–५ हजार प्राप्त गरे ।

१ असोजदेखि शुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा २ सय बढी खेलाडीले सहभागिता जनाएको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, रिभाईव लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटिका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक कमिटिका लिलाबहादुर थापा, ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे ।