एनआरएनए सह-कोषाध्यक्षमा जापाननिवासी नारायण सुवेदीको उम्मेदवारी

एनआरएनए सह-कोषाध्यक्षमा जापाननिवासी नारायण सुवेदीको उम्मेदवारी


  • घटना र विचार, न्युज डेस्क

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको लागि सह-कोषाध्यक्षमा नारायण सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि जापानमा रहेर ब्यवसाय गर्दै आएका सुवेदीले स्मार्ट एनआरएनएसहित आर्थिक पारदर्शिता, राष्ट्रमा लगानी अनि समावेशी मेरो प्रतिवद्धता भन्ने नारासहित एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा उमेदवारी घोषणा गरेका हुन् ।

जापानबाट विभिन्न देशमा गाडी एक्सपोर्ट ब्यवसायमा सफलता प्राप्त गरेका सुवेदी सामाजिक सेवामा पनि विगत लामो समयदेखि क्रियाशील रहेका छन् ।

नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति जापानका पूर्वसभापति समेत रहेका सुवेदी गैरआवासीय नेपाली संघ आईसीसीमा जापानबाट सदस्य रही कार्यकाल सम्पन्न गरेका एनआरएन हुन् ।

आगामी कार्यकाल २०२१-२०२३ को लागि जापानबाट सह कोषाध्यक्षका रुपमा आएर आफूले आर्जन गरेको सीपमार्फत् मातृभूमिका साथै डायस्पोरामा बसोबास गरेका नेपालीहरुको सहयोगमा जुट्ने आधार तय गर्ने सुवेदीले बताए ।

शंकरदेव क्याम्पसबाट एमबीए गरेका र आर्थिक कारोबारमा राम्रो अनुभव भएका नारायणले उम्मेदवारी घोषणा गर्दै भने, ‘एनआरएनएमा आर्थिक पारदर्शीताको परिवेश निर्माण गर्न कुनै कसर राख्ने छैन ।’

जापानको नेपाली समाजमा घुलेका सुवेदी समाजसेवा हरदम सक्रिय भएकाले पनि आइसीसी सह-कोषाध्यक्ष पदको स्वभाविक उमम्ेदवार हुनुका साथै सबैको साझा एनआरएन बनाउन, संघको विश्वासलाई डायस्पोरामा स्थापना गर्दै संघमा आर्थिक पारदर्शिताका पक्षमा काम गर्नका निमित्त आफूले उम्मेदवारी दिएको बताउँछन् ।

एनआरएनए आईसीसीको विश्व सम्मेलन आगामी अक्टोबर महिनाको अन्तिम साता हुने घोषणा भइसकोको छ । तथापि, राजनीति भन्दा नितान्त बाहिर रहेको गैरआवासीय नेपाली संघलाई नेपालको पार्टीगत राजनीतिको शिकार बनाउन थालेको चर्चा यतिबेला विश्वभर फैलिँदो देखिँदैछ ।

घटना र विचारसँगको संक्षिप्त कुराकानीमा सुवेदी भन्छन्- ‘गैरआवासीय नेपाली संघलाईं सबैको अपनत्व महसूस गरी लैजानका लागि मेरो उम्मेदवारी हो । अब हामीले यहाँ नेपालको राजनीतिक आस्थाका आधारमा संघलाई लैजान थाल्यौ भने भोलिका पुस्ताले संघलाई विश्वास नगर्ने भय छ । त्यसैले मेरो प्रयास भनेको सबैको साझा एनआरएन निर्माण गर्नु नै हो ।’