नर्भिकका चौधरी मुटुको उपचार गराउन दुबई पुगेपछि…

नर्भिकका चौधरी मुटुको उपचार गराउन दुबई पुगेपछि…



गत साता मुटुमा समस्या देखिएपछि आफ्नै अस्पताल नर्भिकमा एन्जियोग्राफी गराएका वसन्त चौधरी त्यसलगत्तै घुमघाम गर्ने भन्दै सपरिवार दुबई पुगे । तर, दुबइमा उनलाई हर्ट एट्याक भएको र त्यहीँ मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको भन्ने प्रसङ्ग यतिबेला विशेष चासोको विषय बन्न पुगेको छ ।

वसन्त चौधरीको दुबईमा मुटुसम्बन्धी उपचार भइरहेको सन्दर्भलाई लिएर विभिन्न टीकाटिप्पणी शुरु भएका छन् । आफ्नै अस्पतालमा विश्वसनीय उपचार हुन नसक्ने ठानेर चौधरी घुमफिरको बहाना बनाइ दुबई पुगेको आँकलन गरिएको छ ।

मुटुमा समस्या देखिएपछि सोसम्बन्धी प्राथमिक उपचार नर्भिकमा गरी सुझबुझका साथ उनी दुबईतर्फ लागेको दाबी गरिएको छ । सुत्रका अनुसार उपचारकै लागि दुबई गएको भन्ने तथ्य सार्वजनिक गर्दा नर्भिक अस्पतालप्रति गलत अवधारणा निर्माण हुन सक्ने भएकोले योजनावद्ध रुपले उनी सपरिवार घुमफिरको बहाना बनाएर दुबई पुगेका हुन् । दुबईमै हर्ट एट्याक भएपछि उपचारका लागि नर्भिक फर्कने सवाल रहन्न, त्यसैले दुबईमा रहेको बेला हर्ट एट्याक भएको भन्ने समाचार सम्प्रेषण गराइएको हो । तर चौधरीलाई त्यहाँ हर्ट एट्याक भएको नभई नर्भिकमै समस्या पहिचान भएपछि थप उपचारका लागि उनी दुबईस्थित अमेरिकन हस्पिटल पुगेका स्रोत बताउँछ ।

नेपाली मिडियामा आफ्नो स्वास्थ्यबारे चासोका साथ विभिन्न कोणबाट समाचार सम्प्रेषित भएपछि वसन्त चौधरीले सामाजिक सञ्जालमार्फत् स्पष्टोक्ति सार्वजनिक गरेका छन् । गत साता मुटुमा असहजता महसूस भएपछि नर्भिकमै एन्जियोग्राफी गराएको र त्यसपश्चात दुबईस्थित अमेरिकन हस्पिटलमा थप जाँच गराउँदा विशेषज्ञहरुले मुटुको धमनीको उपचार गराउन सुझाव दिएको चौधरीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । उद्यमी, समाजसेवी एवम् कवि वसन्त चौधरीको मुटुको स्वास्थ्य सामान्य नै रहेको नर्भिक अस्पतालले जनाएको छ ।