उग्रवादीले गलत बाटो लिँदैमा लोकतन्त्र समाप्त हुँदैन

उग्रवादीले गलत बाटो लिँदैमा लोकतन्त्र समाप्त हुँदैन


-(केपी ओली -वरिष्ठ नेता, एमाले)
एमालेका वरिष्ठ नेता केपी ओली देखेका कुरा खरो रूपमा बोल्ने नेताका रूपमा परिचित हुनुहुन्छ । नेपालको राजनीतिका शीर्ष नेतामा पर्नुहुने ओली एकीकृत नेकपा माओवादीको गलत नीतिप्रति कडा शब्दवाण प्रहार गर्ने एक साहसी नेता हुनुहुन्छ । ओलीले बोल्यो कि नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा हुन्छ । बौद्धिक, इमानदार र शक्तिशाली नेता ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा गरिन थालेको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
ध जेठ १४ मा संविधान जारी नहुने भो, यसको दोष कसले बोक्ने ?
– जम्माजम्मी यसको पछाडि माओवादीको गलत नीति, गलत उद्देश्य र गलत व्यवहार जिम्मेवार छ । हिंसाको आडमा सत्ता कब्जा गर्न उसले सबै अवसर दुरुपयोग गरिरहेको छ । असंवैधानिक बाटो, हिंसात्मक औजार या हतियार र लडाकुमा भर पर्ने, नागरिक पार्टी बन्न पटक्कै नचाहने पार्टीले संविधानसभामा एकतिहाइभन्दा बढी सिट ओगटेको छ । संविधान जारी गर्न दुईतिहाइ बहुमत चाहिन्छ । गलत नीति, सत्ता कब्जाको उद्देश्य छ, संविधान लेख्ने सोचै छैन उसको । क्रियाकलाप त्यस्तो र सबैभन्दा बढी सिट उसैको भएपछि कसरी बन्छ संविधान ?
ध यसको मतलब संविधानसभाको कुनै औचित्य छैन, तपाईंले यही भन्न खोज्नुभएको हो ?
– म त्यसो भन्दिनँ । तर, माओवादीका गलत नीति, उद्देश्य र गतिविधिकोचाहिँ औचित्य छैन ।
ध तपाईंहरू माओवादीलाई ठीक गर्न पनि नसक्ने, माओवादीको साथ लिन पनि नसक्ने भएपछि भविष्यमा कसरी बन्छ संविधान ?
– किन नसक्ने ? संविधान बन्छ । माओवादीलाई साथ लिने सवालमाचाहिँ म के भन्छु भने एकैचोटि उसलाई समाप्त पार्ने कुरा हुँदैन । हामी उसलाई रूपान्तरण गरिरहेका छौँ ।
ध उ रूपान्तरण भएन भने के गर्ने नि ?
– लार्भा या त पुतलीमा परिणत हुन्छ होइन भने लार्भा-जुनीमै त्यो समाप्त हुन्छ ।
ध त्यसो भए रूपान्तरण नभए माओवादी सकिन्छ ?
– सिद्धिहाल्छ नि † उग्रपन्थको कहाँ भविष्य हुन्छ ?
ध माओवादी त अरूलाई सिध्याउन पो रणनीति बनाइरहेको छ त ?
– हामी उसलाई सिध्याउने भनिरहेका छैनौँ, हामी त रूपान्तरण गराउने क्रममा छौँ । भएन भने उसलाई अरूले सिध्याउने होइन, ऊ आफैं सिद्धिने हो ।
ध माओवादीप्रति तपाईं निकै आक्रामक हुनुहुन्छ नि, किन होला ?
– कहाँ आक्रामक हुनु ? केमा आक्रामक ? उसप्रति ममात्र किन आक्रामक बन्नुपर्छ र ? त्यस्तो होइन ।
ध उसको सम्पूर्ण नीति असफल बनाइदिनुभएको छ त तपाईंले ?
– चाहे जसको होस्, गलत नीति असफल हुनु त स्वाभाविकै हो नि ।
ध सरकारमा जाने माओवादीको सपना चकनाचुर पारिदिनुभयो होइन तपाईंले ?
– उड्नुपर्यो भने छतबाट हामफाल्ने त होइन नि । उड्ने पनि विधि हुन्छन् । कि हवाईजहाज चढ्नुपर्यो, कि हेलिकोप्टर चढ्नुपर्यो, कि त प्याराग्लाइडर चढ्नुपर्यो । कि त ठूलै पखेटा हाल्नुपर्यो, कि जंगबहादुर जस्तो ठूलो छाता समात्नुपर्यो । केही त हुनुपर्यो नि । प्याराजम्प गर्नुपर्नेमा छतबाट हामफाल्न खोजेर उडिन्छ त ? उग्रपन्थ यस्तै हुन्छ ।
ध माओवादीको मुख्य नारा त राष्ट्रिय सहमतिको सरकार हो नि ?
– कहाँको मुख्य नारा ? त्यो त छलछाम मात्र हो । माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने नै हो भने म भन्छु, आजै हुन्छ, भरे बेलुका नै हुन्छ ।
ध त्यसका लागि माओवादीले के-के गर्नुपर्छ त ?
– सरकारमा सामेल हुनुपर्छ । राष्ट्रिय सहमतिको सरकार चाहिएकै हो भने पहिले ऊ यो सरकारमा सहभागी हुनुपर्छ ।
ध उनीहरूले त पहिले माधवकुमार नेपालको राजीनामा पो मागेका छन् त ?
– मैले माओवादीको मुख्य नारा राष्ट्रिय सहमतिको सरकारलाई छलछाम भनेको त्यही भएर हो । चाहिएको माधव नेपालको राजीनामा, भन्ने राष्ट्रिय सहमतिको
सरकार ? चाहियो आफूलाई प्रधानमन्त्री, भन्ने राष्ट्रिय सहमति ? त्यो मिल्दैन ।
ध भनेपछि प्रधानमन्त्री माधव नेपालको राजीनामा आउँदैन ?
– माधव नेपालको राजीनामा भनेको के हो ? सहमतिका लागि किन छाड्नुपर्यो ? उहाँकै नेतृत्वमा सहमति गर्दा के हुन्छ ? संसद्को बहुमतले भनेको नमानेर सहमति हुन्छ कतै ?
ध बहुमतले त संविधान बनेन नि ?
– अल्पमतले बन्छ त ? बहुमतलाई नमानेर राष्ट्रिय सहमति, बहुमतविरुद्ध कुरा गरेर राष्ट्रिय सहमति ? बहुमतलाई बन्द गरेर राष्ट्रिय सहमति हुने त होइन नि ।
ध त्यसो भए माओवादीबिना संविधानसभाको म्याद थपिन्छ होला त ?
– संविधान किन समयमै बनेन या शान्तिप्रक्रिया धरापमा किन पर्यो भने गलत नीति, गलत उद्देश्य भएको माओवादी संविधानसभामा एकतिहाइभन्दा बढी स्थानमा छ । ऊ नै सबैभन्दा ठूलो व्यवधान हो ।
ध ऊ नै व्यवधान हो भने किन म्याद थप्न विधेयक दर्ता गराउनुभएको त ?
– माओवादीलाई सपार्नका निम्ति । सप्रेन भनेर हामीले हरेश खानुहुन्छ र ? यही देशका मान्छे हुन्, यहीँ छन् । आँखा चिम्लेर बसेर हुन्छ ? बानी बिग्रेका, मति बिग्रेका भए पनि उनीहरू त छन् आखिर ।
ध माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दैबन्दैन त ?
– अहिलेको स्थितिमा राष्ट्रिय सहमतिको सरकार बन्दैन । गलत नीति, हिंसाको बाटो, असंवैधानिक कब्जा, धाकधक्कु, विद्रोह छाड्यो भने, संसद्मा बहुमतको र्समर्थन पायो भने उसको नेतृत्वमा सरकार बन्न सक्छ । हामी राष्ट्रिय सहमति पनि जुटाइदिन्छौँ ।
ध जेठ १४ पछिचाहिँ माओवादीको सरकार आउँछ भन्छन् नि ?
– अस्तिको महान् तृतीय जनआन्दोलनले गर्यो कब्जा ?
ध जेठ १५ मा त जनसंविधान नै घोषणा गर्छु नेको छ नि माओवादीले ?
– तपाईं पत्रकारहरू पनि काम पाउनुहुन्न । उसले एउटा पुस्तक विमोचन गर्न खोजिरहेको छ । संविधान भनेको ठट्टा हो र ? रिपोर्टर्स क्लबले संविधान तयार गरेको छ र अब त्यसलाई जारी गरिदिने ?
ध यस्तो अवस्थामा निकास के हो त अब ?
– अवरोध नै माओवादी हो । देशमा हिंसा भयो कसले गर्दा ? घोषणा गरेर मात्र हुन्छ ? माओवादीले गर्दा नै यस्तो बेथिति निम्तिएको होइन – शान्तिप्रक्रियामा ल्याइयो कसलाई- माओवादीलाई । हिंसाको नीति छोडाउनुपर्ने, रूपान्तरण गराउनुपर्ने कसलाई हो- माओवादीलाई । अरूले त हिंसा गरेको होइन । समस्या भएर त मारकाट गरेर हिँडेको माओवादीलाई संसद्मा बराबर हैसियत दिएर राखेको हो ।
ध माओवादी लडाकुलाई अब के गर्ने नि ?
– कहाँ छन् माओवादी लडाकु ? सरकारको रासनपानी खाने पनि माओवादी लडाकु हुन्छन् ? क्यान्टोनमेन्टमा बसेका त पूर्वमाओवादी लडाकु हुन् । अहिलेसम्म त सरकार लचिलो भएको मात्र हो । अब सरकारले कन्ट्रोल गर्छ । शिविर भनेको माओवादी तालिमखाना होइन । शिविर भनेको मध्यवर्ती क्षेत्र हो । लडाकु त सरकारलाई हस्तान्तरण भइसके ।
ध सरकारले राजीनामा दिने कि नदिने त ?
– प्रधानमन्त्रीको राजीनामा त माओवादीको रुवावासी मात्र हो । माओवादीले कानुनी या संवैधानिक कुरै गर्दैन । सरकार बनाउने बहुमतले हो । उसलाई बहुमतले मान्दै मान्दैन । उसको प्रस्ताव नै हास्यास्पद छ । माधव नेपाललाई प्रधानमन्त्री नमान्ने कि संसद्को निर्णय नमान्ने ? संविधान नमान्ने कि माधव नेपाल नमान्ने ? माओवादीले भनेजस्तै माधव नेपालले राजीनामा गरिदिनुभयो रे लौ । फेरि माधव नेपाललाई संसद्ले प्रधानमन्त्री बहुमतले छान्न नपाउने भन्ने त छैन । फेरि खुलामञ्चमा गएर छाती पिट्दै, कपाल लुछ्दै, मुख छाड्दै भिजिलान्ते र सुकिलामुकिला भन्दै सराप्ने कि नसराप्ने उसले ?
ध जेठ १४ पछि के होला त ?
– त्यसपछि नेपालले लोकतान्त्रिक दिशा पक्रन्छ । अनेक हल्लाखल्ला भएका मात्र हुन् । नेपालले लोकतन्त्रको बाटो छाड्दैन ।
ध संविधानसभाको म्याद नथपी कसरी लोकतान्त्रिक बाटो समाउने नि ?
– लोकतन्त्र भनेको संविधानसभाको म्याद थप्नु होइन । बेलायतमा संविधानसभाको म्याद थपेर लोकतन्त्र रहेको हो र ?
ध भनेपछि तपाईं म्याद नथप्ने पक्षमा ?
– मैले म्याद थप्नुपर्दैन भनेको छैन । म्याद थप्दैन माओवादीले । उग्रवादीले थपेन त के हुन्छ ? उग्रवादीले गलत बाटो लिँदैमा लोकतन्त्र समाप्त भइहाल्छ त ? उग्रवादीको हातमा त्यत्रो तागत ? लोकतन्त्र सिध्याउने ?
ध संविधानसभा नबचाउने त भनेको ?
– संविधान कसले बनायो भन्दा त्यो हामीले नै हो । संविधान कसले बनायो ? त्यो पनि हामीले नै हो । माओवादीलाई जङ्गल भन्नुहुन्छ कि दिल्लीबाट यहाँ ल्याउने पनि हामी नै हो ।
ध संविधानसभाको म्याद नथपिने तपाईंको निष्कर्ष हो ?
– मैले माओवादीलाई बुझेसम्म उग्रवादीका बारेमा भविष्यवाणी गर्न गाह्रो छ । उनीहरू वैज्ञानिक विधिबाट हिँड्दैनन् । नथपे थपिँदैन । तर, सबैभन्दा बढी संविधासभा चाहिएको माओवादीलाई हो । उसले नाकको चालले थप्छ म्याद ।
ध सरकारको हैसियत के हुन्छ त म्याद थपिए ?
– परिस्थिति अहिले त्यहाँ पुगिसकेको छैन । त्यहाँ नपुगीकन विचार दिनु पनि आवश्यक छैन । संविधानले संविधानसभाको म्याद तोकेको छ तर संविधानको म्याद तोकेको छैन । अर्को संविधान जारी भएपछि यो निष्त्रिmय हुने मात्र भनिएको छ ।
ध म्याद थप्न सहमति नबने तपाईं प्रधानमन्त्री बन्नुहुन्छ पनि भनिन्छ नि ?
– मेरा शुभचिन्तकले भने होलान् । तर, कल्पनाशीलता साहित्य लेख्न काम लाग्छ । प्रधानमन्त्री हुनलाई मैले यसो मान्छे मिलाउने, झुटमुठ नारा दिने, नभन्नुपर्नेलाई भन्ने, मिलाउने केही गरेको छु र ? बहुमत मेरो पुग्दैन, सहमति बनाएर फेरि नौमहिने कुर्सी पुर्याइेदेओ, मेरो दिल बसेको छ भन्ने मान्छे म होइन ।
ध एमालेभित्र पनि प्रचण्डतिर दिल बस्नेहरू रहेछन् नि ?
– खोइ, उहाँहरूलाई नै सोध्नुपर्छ । केन्द्रीय कमिटीको निर्णयपछि अध्यक्ष झलनाथ खनालले त पत्रकार सम्मेलन गरिसक्नुभएको छ ।
ध भनेपछि अध्यक्ष ठीक ठाउँमा हुनुहुन्छ ?
– उहाँ ठीक ठाउँमा हुनुहुन्छ ।
ध उपाध्यक्ष वामदेव गौतम नि ? पार्टीमै रहनुहुन्छ कि छाड्नुहुन्छ ?
– त्यस्तो होइन । उहाँमा अलिकति समस्या छ । उहाँ जानुहुन्न, उहाँलाई अलिकति सम्झाउनुपर्छ ।
ध कतिपय कानुनविद्ले जेठ १४ गतेपछि संसद्को चुनावमा जाने विकल्प दिएका छन् नि ?
– कस्तो चुनाव ? केको चुनाव ? किन चुनाव ? कसरी चुनाव ? माओवादी समस्या समाधान नगरी, हिंसा अन्त्य नभई चुनाव नाटक मञ्चन मात्र हुन्छ । चुनावमै जाने हो भने चुनाव जस्तो अवस्था बनाउनुपर्ला नि त ।